अहं, व्यक्तिवाद र संकीर्ण स्वार्थमा नरमाउँ, मूल जिम्मेवारीबाट ध्यान अन्यत्र मोड्न नखोजियोस् : माधव नेपाल

‘व्यक्तिवाद, संकीर्ण स्वार्थ, व्यक्तिगत आग्रह वा अहंबाट वा कुनै प्रकारको आक्रोश, भावावेश वा अनावश्यक आशंका र अविश्वासबाट प्रेरित वा प्रभावित नभई पार्टी एकताको मर्म, भावना र उद्देश्यलाई दह्रोसँग पक्रिएर अघि बढ्नु हामी सबैको दायित्व हो भन्ने कुरा म स्मरण गराउन चाहन्छु’

जनसम्मत
वैशाख १०, २०७७, बुधबार

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता माधवकुमार नेपालले पार्टी एकताको मर्म, भावना र उद्देश्यलाई दह्रोसँग पक्रिएर अघि बढ्न पार्टी पंक्तिलाई आह्वान गरेका छन् ।

एक विज्ञप्ति जारी गर्दै नेता नेपालले मुलुक चुनौतीपूर्ण अवस्थामा रहेको बेलामा नेपाल कम्युनिस्ट पार्टीको दायित्व अझै बढेको बताएका छन् ।
नयाँ संविधान जारी भएपछि सम्पन्न निर्वाचनमा जनताले नेपाल कम्युनिष्ट पार्टीलाई दिएको अभिमत सामाजिक न्यायसहितको समुन्नत र समृद्ध मुलुक निर्माणको अभिभारा पूरा गर्नका लागि भएको विज्ञप्तीमा उल्लेख गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘बलियो र एकताबद्ध पार्टीबाट मात्रै मुलुकको आमूल परिवर्तनको नेतृत्व गर्न र जनताले सुम्पेको जिम्मेवारी कुशलताका साथ पूरा गर्न सकिनेछ ।’

‘यस चुनौतीपूर्ण घडीमा म सबै नेता–कार्यकर्ता, सदस्य र शुभेच्छुकहरुलाई पार्टी एकताप्रति संवेदनशील रहन, पार्टीलाई एकताबद्ध बनाइराख्न र आपसी हार्दिकता अभिवृद्धि गर्दै पार्टी काममा क्रियाशील रहन आह्वाान गर्दछु ।’

सरकारले सोमबार ल्याएको अध्यादेशप्रति संकेत गर्दै विज्ञप्तीमा अगाडि भनिएको छ, ‘हाल विकसित कतिपय घटनाक्रमले पार्टीभित्र अनेकांै आशंका र चिन्ता उत्पन्न भएको पाइएको छ । यस्तो अवस्थामा हामीले सिंगो पार्टी पंक्तिलाई भावनात्मक रुपले एकताबद्ध बनाउन जिम्मेवारीका साथ अघि बढ्नुपर्दछ ।’

विधिका आधारमा सहमति, समझदारी र विश्वासका साथ अघि बढाउने कुरामा आ–आफ्नो ठाउँबाट योगदान गर्न पनि उनले सबैलाई आग्रह गरेका छन् ।

उनले भनेका छन्, ‘व्यक्तिवाद, संकीर्ण स्वार्थ, व्यक्तिगत आग्रह वा अहंबाट वा कुनै प्रकारको आक्रोश, भावावेश वा अनावश्यक आशंका र अविश्वासबाट प्रेरित वा प्रभावित नभई पार्टी एकताको मर्म, भावना र उद्देश्यलाई दह्रोसँग पक्रिएर अघि बढ्नु हामी सबैको दायित्व हो भन्ने कुरा म स्मरण गराउन चाहन्छु ।’

उनले कोभिड–१९ को महामारीले विश्वसहित नेपाललाई आक्रान्त पारिरहेको विषम परिस्थितिमा सरकार र पार्टी कहीँबाट पनि मूल जिम्मेवारीबाट ध्यान अन्यत्र मोड्ने, संविधान र कानुनी शासनका मान्यतामा प्रहार हुने, अविश्वास र आशंका उत्पन्न हुने तथा पार्टीको एकतामा आघात पुग्न सक्ने काम–कुरा हुन नहुने उनले औँल्याएका छन् ।