अमेरिकामा कोरोनाबाट करिब ५० हजारको ज्यान गयो, साढे ८ लाख ७० हजारको संख्यामा संक्रमित

अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै २३ सय बढीको मृत्यु भएको छ भने ३१ हजारभन्दा बढी नयाँ संक्रमित भेटिएका छन्

जनसम्मत
वैशाख १२, २०७७, शुक्रबार

पोखरा । कोरोनाबाट अमेरिकामा सबैभन्दा बढीको ज्यान गएको छ ।

कोरोनाको उद्गम स्थल चीन भएपनि कोरोना संक्रमणबाट सबैभन्दा बढी मृत्यु हुनेमा अमेरिका पर्छ । अहिलेसम्म अमेरिकामा ४९ हजार ८४५ सय बढीको मृत्यु भइसकेको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै २३ सय बढीको मृत्यु भएको छ भने ३१ हजारभन्दा बढी नयाँ संक्रमित भेटिएका छन् ।

अहिलेसम्म त्यहाँ संक्रमितको संख्या पनि सबैभन्दा बढी छ । त्यहाँ, संक्रमितको संख्या ८ लाख ८० हजार २०४ पुगेको छ । तीमध्ये ८५ हजार ९२२ जना पूर्णरूपमा निको भइसकेका छन् । हाल, त्यहाँ ७ लाख ४४ हजार ४ सय बढीमा कोरोनाको सक्रिय रहेको छ । संक्रमितमध्ये १५ हजारको अवस्था गम्भीर रहेको छ ।

त्यहाँको सबैभन्दा बढी प्रभावित राज्य न्यूयोर्कमा मात्रै कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २० हजार ८६१ पुगेको छ । बिहीबार मात्रै त्यहाँ ५०७ को मृत्यु भएको छ भने ६ हजार ३३१ नयाँ संक्रमित फेला परेका छन् । अहिलेसम्म न्यूयोर्कमा कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार पुगेको छ ।

अर्को बढी प्रभावित राज्य न्यूजर्सीमा कोरोना संक्रमितको संख्या १ लाख नाघेको छ । त्यहाँ ५ हजार ४२८ जनाले ज्यान गुमाएका छन् । बिहीबार मात्रै त्यहाँ ३६५ जनाको मृत्यु भएको छ भने ४ हजार १६० नयाँ संक्रमित थपिएका छन् ।

अमेरिकापछि कोरोनाका कारण सबैभन्दा बढी मृत्यु हुनेमा इटाली पर्छ । अहिलेसम्म इटालीमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २५ हजार ५४९ पुगेको छ । अहिलेसम्म त्यहाँ १ लाख ९० हजार कोरोनाबाट संक्रमित भएका छन् । बिहीबार मात्रै इटालीमा साढे २ हजार नयाँ संक्रमित भेटिएका छन् भने ४६४ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ५७ हजार ५७६ बढी पूर्णरूपमा निको भइसकेका छन् ।