भारतले एक हप्तामा ६४ उडानमार्फत विदेशमा रहेका आफ्ना १५ हजार नागरिकलाई देश फर्काउँदै

पञ्जाब राज्यका मुख्यसचिव केबीएस सिद्दकाअनुसार ७ मे देखि १३ मेको एक हप्ताको समयमा १२ देशमा ६४ उडान गरिने र १५ हजार भारतीयको उद्धार गरिनेछ

जनसम्मत
वैशाख २३, २०७७, मंगलवार

पोखरा । भारतले एक हप्तामा ६४ उडानमार्फत विदेशमा रहेका आफ्ना १५ हजार नागरिकलाई देश फर्काउँदै छ ।

भारतले अरु देशमा फसेका आफ्ना नागरिकको उद्धार गर्ने भएको हो । बिहीबारदेखि सुरु हुने उद्धारमा यात्रुवाहक जहाज र नौसेनाको जहाज प्रयोग गरिने भारतको गृह मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । पहिलो चरणमा समस्यामा रहेका कामदार, वृद्धवृद्धा, बिरामी र गर्भवतीलाई उद्धार गरिनेछ ।

पञ्जाब राज्यका मुख्यसचिव केबीएस सिद्दकाअनुसार ७ मे देखि १३ मेको एक हप्ताको समयमा १२ देशमा ६४ उडान गरिने र १५ हजार भारतीयको उद्धार गरिनेछ ।

पहिलो चरणमा संयुक्त अरब इमिरेट्स, मलेसिया, सिंगापुर, ओमान, कुबेत साउदी अरब अमेरिका र बहराइनसहित १२ देशका नागरिकको उद्दार हुने पनि मुख्य सचिव सिद्दको भनाई छ ।

भारतीय ७ सय जनाको उद्दार गर्न नौसेनाको जहाज मे ८ तारिख माल्दिभ्स जाने भएको छ । टिकट र अन्य खर्च भने नागरिकले नै बेहोर्नुपर्नेछ । हरेक यात्रुको विस्तृत स्वास्थ्य जाँच गरिने र परीक्षण सफल भएकालाई मात्रै भारत ल्याइने पनि गृह मन्त्रालयले जनाएको छ । भारत आएपछि सबैले १४ दिन क्वरेन्टाइनमा बस्नुपर्नेछ ।

विश्वको २ सय देशमा भारतीय पासपोर्ट भएका झण्डै सवा करोड भारतीय नागरिक रहेकामा ८७ लाख नागरिक खाडी देशमा मात्रै रहेको भारतले जनाएको छ ।