समान पारिश्रमिकको मुद्दा खारेजीविरुद्ध अमेरिकी महिला फुटबल टिमको पुनः अपिल

खेलाडीको तर्फबाट प्रवक्ता रहेकी मोली लेभिनसनले अदालतको निर्णयविरुद्ध अपिल गरेको बताएकी छन्

एजेन्सी
वैशाख २७, २०७७, शनिबार

समान तलब पाउनुपर्ने मागसहित दर्ता गरेको मुद्दा अदालतले खारेज गरेपछि अमेरिकी महिला फुटबल टिमले त्यसविरुद्ध अपिल दर्ता गरेको छ ।

एक साताअघि अमेरिकी पुरुष टिमको तुलनामा आफूहरूले न्यून तलब पाएको भन्दै महिला खेलाडीहरूले दायर गरेको मुद्दालाई एक न्यायाधीशले खारेज गरिदिएका थिए । महिला टिमका २८ खेलाडीले अमेरिकी फुटबल संघविरुद्ध गत वर्ष मुद्दा दायर गरेका थिए । समान ज्याला ऐनअन्तर्गत उनीहरूले ६ करोड ६० लाख अमेरिकी डलर क्षतिपूर्ति माग गरेका थिए ।

खेलाडीको तर्फबाट प्रवक्ता रहेकी मोली लेभिनसनले अदालतको निर्णयविरुद्ध हिजो अपिल गरेको बताएकी छन् ।

‘समान तलब भनेको पुरुष खेलाडीले जुन दरमा पारिश्रमिक पाउँछन्, महिला खेलाडीले पनि त्यही दरमा पाउनुपर्छ भन्ने हो,’ लेभिसनले भनिन् ।

अमेरिकी महिला टिमले गत वर्ष महिला विश्वकपको उपाधि जितेको थियो । अमेरिकी महिला फुटबल टिमको यो चौथो विश्वकप उपाधि थियो । उनीहरूले ओलम्पिकमा पनि स्वर्ण पदक जितेका थिए ।