नेपालमा एकैदिन थप ८३ जनामा कोरोना संक्रमण, संक्रमित संख्या २१७ पुग्यो, पर्सा जिल्ला आतङ्कित

जनसम्मत
वैशाख ३१, २०७७, बुधबार

पोखरा । नेपालमा मंगलबार एकै दिन ८३ कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यससँगै संक्रमित हुनेको संख्या १९१ जना पुगेको छ । संक्रमित जना सबै पुरुष रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिएका छन्।

मंगलबार संक्रमण पुष्टि भएकाहरुमध्ये पर्सामा ५७ जना, कपिलवस्तुमा ८, रुपन्देहीका ९ र भक्तपुर, महोत्तरी र धनुषामा २/२ जना काठमाण्डौं, बारा र सर्लाहीमा १/१ जना नयाँ संक्रमित देखिएका छन् ।  यसअघि सोमबार पनि पर्सामा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

अहिलेसम्म संक्रमण देखिएका दुई सय १७ मा एक सय ६७ पुरुष र ५० महिला छन् । उनीहरूमध्ये ३३ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । संक्रमित सबै स्वास्थ्यकर्मीको सम्पर्कमा छन् ।

कोरोनाको आशंकामा काठमाडौं उपत्यकाभित्र एकजना र बाहिर दुई सय २७ जना अस्पतालको आइसोलेसनमा छन् । त्यस्तै देशभर १२ हजार सात सय ८५ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाको आशंकामा पछिल्लो २४ घन्टामा दुई हजार दुई सय ३६ जनाको नमुना परीक्षण भएको छ । अहिलेसम्म पिसिआर प्रविधिबाट १८ हजार नौ सय ६४ र आरडिटी विधिमार्फत ५९ हजार ६ सय २७ गरी ७८ हजार पाँच सय ९१ जनाको कोरोना परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।

एकैदिन ५७ नयाँ संक्रमित देखिएपछि पर्सावासी त्रसित बनेका छन् । पर्सामा स्थानीय प्रशासनले मुख्य सडकमा निस्कन रोक लगाएको छ । वीरगन्ज महानगरपालिकाको छपकैया, मुर्ली, लक्ष्मणवा, इनर्वा, श्रीपुरलगायतका बासिन्दालाई आवागमनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

छपकैयामा सबैभन्दा बढी संक्रमित भेटिएपछि वडालाई नै सिल गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए । संक्रमण फैलन नदिन छपकैया टोलमा अर्को व्यवस्था नहुन्जेलसम्म पूर्ण रूपमा सिल गरिएको उनको भनाइ छ ।

‘वीरगन्जसहित जिल्लाका विभिन्न स्थानमा विगतभन्दा बढी कडाइ गरिएको छ,’ बस्नेतले भने, ‘जिल्ला प्रशासन कार्यालयबाट पास लिएकाले मात्र बाहिर आवतजावत गर्न पाउने व्यवस्था मिलाइएको छ ।’

पर्सामा अहिलेसम्म हजारभन्दा बढीको स्वाब संकलन गरिएको छ । नारायणी अस्पतालका अनुसार संक्रमण देखिएका नयाँ व्यक्तिको सम्पर्कमा रहेकाको पनि अब स्वाब संकलन गरिने नारायणी अस्पतालकी प्याथोलोजिस्ट डा. नीरा पाठकले बताइन् ।

कोरोना संक्रमण तीव्र गतिमा बढ्न थालेपछि सरकारले लकडाउनमा थप कडाई गरेको छ । वितरण गरिएका पास रद्द गर्दै गृह मन्त्रालयले बुधबारदेखि एक जिल्लाबाट अर्काे जिल्ला जानमा पनि रोक लगाएको छ ।

मंगलबार एकैदिन ८३ नयाँ संक्रमित देखिएपछि कडाई गरिएको हो । अब अत्यावश्यक अवस्थामा अन्तरजिल्लाको पासका लागि गृह मन्त्रालयको स्वीकृत लिनुपर्नेछ । राजधानी उपत्यकाका जिल्लाले अन्तरजिल्लाको पास जारी गर्न भने सम्बन्धित जिल्लाको जिल्ला प्रशासन कार्यालयको सहमति लिनुपर्नेछ ।

राजधानी उपत्यकाका ३ जिल्लामा भने अहिले जारी गरिएको पासले नै ओहोर–दोहोर गर्न पाइने गृह मन्त्रालयले जनाएको छ ।

(विभिन्न अनलाइन न्यूज पोर्टलबाट)