यसअघि, जिल्लाका प्रशासन कार्यलयहरुले जारी गरेका अन्तरजिल्ला पास गृह मन्त्रालयद्वारा खारेज

उपत्यकाभित्र सम्बन्धित मन्त्रालय र तोकिएका नियामक निकायको र साथै उपत्यकाबाहिर जिल्लाका हकमा पनि सम्बन्धित निकायले जारी गरेको पास मान्य, काठमाडौँ आउन–जान गृहको लिखित स्वीकृति आवश्यक

जनसम्मत
जेठ १, २०७७, बिहीवार

पोखरा । गृह मन्त्रालयले यसअघि जिल्ला प्रशासन कार्यालयहरूबाट जिल्लाभित्र सवारी संचालन गर्न दिइएको पास खारेज गर्ने निर्णय गरेको छ ।

एक जिल्लाबाट अर्को जिल्ला जान पाउने गरी यस अघि जारी भएका सबै सवारी पास गृह मन्त्रालयले बिहीबारबाट लागू हुने गरी रद्द गरेको छ । साथै यसअघि तोकिएका नियामक निकायबाट जारी भएका पासलाई मात्र मान्यता दिने भएको छ ।

गृहमा बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको कुरा गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले जानकारी गराएका छन् ।

उपत्यकाभित्र सम्बन्धित मन्त्रालय र तोकिएका नियामक निकाय र उपत्यकाबाहिर जिल्लाका हकमा पनि सम्बन्धित निकायले जारी गरेको भए सोही अनुसार हुने, नभए जिल्ला प्रशासन कार्यालयबाट सवारी पास जारी गरिने अधिकारीले प्रष्ट पारे ।

अत्यावश्यक सेवाका सावारी साधनका हकमा पास आवश्यक नहुने र पत्रकारका लागि सूचना विभागले जारी गरेको प्रेस पासबाटै सवारी साधन चलाउन पाउने व्यवस्था गरिएको छ ।

यस्तै, कुनै जिल्लाबाट काठमाडौँ कसैलाई पठाउनु परेमा सम्बन्धित प्रमुख जिल्ला अधिकारीले गृह मन्त्रालयको लिखित स्वीकृती लिएर मात्र पठाउन पाउने व्यवस्था गरिएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले बताएका छन् । यस्तै अर्काे जिल्लामा जानका लागि पास दिँदा सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर मात्र पास दिनु पर्नेछ ।

गृह मन्त्रालयका अनुसार देशमा कोरोना संक्रमितको संख्या बढेसँगै बिहीबारदेखि लागू हुने गरी यस्तो निर्णय भएको हो । यसअघि, कार्यालयको परिचयपत्र देखाएर आवत–जावत गर्ने गरेकोमा अब सम्बन्धित निकायले जारी गरेको पासका आधारमा मात्र अनुमति पाइनेछ ।

संचारकर्मीका हकमा भने सूचना विभागबाट जारी गरिएको पासका आधारमा आवतजावत गर्न पाउने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।