गण्डकी प्रदेशभित्र १ लाख ६ सय ८८ उद्योगहरु संचालन, ति उद्योगबाट ३ लाख ४१ हजार ८ सय १८ जनालाई प्रत्यक्ष रोजगारी

पोखरामा ‘लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन’ सम्बन्धी अन्तरक्रिया

जनसम्मत
वैशाख १५, २०७६, आइतबार

पोखरा । गण्डकी प्रदेशभित्र १ लाख ६ सय ८८ उद्योगहरु संचालनमा छन् ।

ति उद्योगहरुमा ३ लाख ४१ ह्जार ८ सय १८ जनाले रोजगारी पाएको पोखरामा आइतबार आयोजित एक अन्तरक्रियामा बताइएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ तथा पोखरा उद्योग वाणिज्य संघको आयोजना तथा नेपाल सरकार लघु, घरेलु तथा साना उद्योग विकास कोषको सहयोगमा आइतबार पोखरामा आयोजित कार्यक्रममा एक कार्यपत्र प्रस्तुत गर्दै नेपाल उद्योग वाणिज्य महासंघका उपमहानिर्देशक हंशराम पाण्डेयले उक्त कुराको जानकारी दिएका हुन् ।

उनले भने, ‘गण्डकी प्रदेशमा १ लाख ६ सय ८८ वटा उद्योगहरु संचालनमा छन् । ती उद्योगहरुमा ३ लाख ४१ हजार ८ सय १८ जनाले रोजगारी पाएका छन् ।’

पाण्डेयले ‘लघु, घरेलु तथा साना उद्योगहरुको अवस्था, उद्योग प्रवद्र्धनमा समस्या र चुनौतीहरु’ विषयक कार्यपत्र पेश गरेका थिए ।

‘लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन’ सम्बन्धी उक्त अन्तरकृया कार्यक्रममा बोल्दै पाण्डेयले उनले परम्परागत तथा घरेलु उद्योगहरुको आयकरमा ५० प्रतिशत छुट भएकोले स्वरोजगार चाहनेहरुले यो क्षेत्रमा काम गर्नुपर्ने जोड दिए ।

परम्परागत सीपबाट संचालन हुँदै आएका उद्योगहरु, कृषि तथा वन पैदावार, चिया, कफी, फलफूल र तरकारी, जडिबुटी, होटल, रेष्टुरेण्ट, गार्मेण्ट र हस्तकलामा आधारित भएर साना उद्योगहरु संचालन गर्न सकिने उनको कार्यपत्रमा उल्लेख छ ।

उनले नयाँ सोंचको कमी, जोखिम बहन क्षमता कम हुनु तथा पूर्वाधारको कमी र बजारको आवश्यकता ठम्याउन नसक्दा घरेलु तथा साना उद्योगहरुले गति लिन नसकेको जिकिर गरे ।

उक्त कार्यक्रमका वक्ताहरुले घरेलु तथा साना उद्योहरुलाई राज्यले विशेष सुविधा र संरक्षण दिनुपर्नेमा जोड दिए । उनीहरुले राज्यले साना र घरेलु उद्योगहरुको प्रतिष्पर्धी क्षमता बढाउन, तालिम र अनुदानको व्यवस्थाको मागसमेत गरे । आफूहरुले राज्यबाट खासै सुविधा नपाएको उनीहरुको गुनासो थियो ।

अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले साना उद्योगीहरुलाई दक्ष बनाउन तालिम केन्द्रको स्थापना गर्नुपर्ने, लघु तथा घरेलु उद्योगबाट उत्पादित सामानहरुको बिक्री र प्रदर्शनीको लागि छुट्टै बिक्री केन्द्रको स्थापना गरिनुपर्ने माग राखे ।

सरकारी कार्यालयहरुले नेपालकै घरेलु र साना उद्योगबाट उत्पादित सामान प्रयोग गर्नुपर्ने, व्यवसायीको पहुँच हैन कि उसको कारोवार हेरेर ऋण तथा अनुदान दिइनु पर्नेलगायतका उनीहरुको माग थियो ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघ घरेलु तथा साना उद्योग समितिका सभापति डीबी बस्नेतले देशमा भएको रोजगारीमा घरलु तथा साना उद्योगको ८५ प्रतिशत योगदान रहेको बताए । ती उद्योगहरुलाई बचाउनु राज्यको कर्तव्य भएको बस्तेतले जोड दिए ।

‘साना उद्योग चलाउनेहरुको राज्यसम्मको पहुँच कम छ,’ बस्नेतले भने, ‘उनीहरु अनुदान र अन्य सहयोग लिन पछि परेका छन् । साना उद्योगहरुका उत्पादनहरुमा प्याकेजिङ र बजारीकरणको समस्या छ । ठूला उद्योगहरुको कर्तव्य साना उद्योगहरुलाई बचाउनु हो ।’

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष संजिवबहादुर कोइरालाले राष्ट्रिय पहिचानका सामाग्री उत्पादन गर्ने लघु तथा साना उद्योगहरुलाई राज्यले नै संरक्षण गर्नुपर्नेमा जोड दिए ।

‘गण्डकी प्रदेश सरकारले लघु, साना तथा घरेलु उद्योगको विकासको लागि ३ करोड बजेटको व्यवस्था गरेकोमा धन्यवाद ज्ञापन गर्दछु,’ उनले भने, ‘युवा उद्यमशीलता कोषमार्फत दिइने सो अनुदानको उद्योगीहरुले उपयोग गर्नुपर्दछ ।’

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले हरेक व्यवसाय सुरु गर्दा बजारको अध्ययन गर्ने परम्पराको विकास गर्नुपर्नेमा जोड दिए । उनले साना र घरेलु उद्योगहरुले राष्ट्रिय अर्थतन्त्रमा दिएको योगदानको कदर गरे ती उद्योगहको संरक्षणमा विशेष कार्यक्रम संचालन गर्न उनले सरकारसँग माग गरे ।

कार्यक्रममा बोल्दै घरेलु तथा साना उद्योग कार्यालय कास्कीका उद्योग अधिकृत महराज ढकालले जनशक्तिको अभावमा आफ्नो कार्यालयले सोचेजस्तो काम गर्न नसकेको बताए । उनले उद्योगको क्षमता बढाउन घरेलुमार्फत दिइने अनुदानको उपयोग गर्न व्यवसायीहरुलाई आग्रह पनि गरे ।