गण्डकी प्रदेशमा लकडाउनलाई थप कडाइ गरिदैँ

लकडाउनका कारणले अप्ठ्यारोमा परेका लमजुङवासी २८ नागरिकलाई चामल, दाल, तेललगायत खाद्यान्न राहतस्वरुप वितरण गरिएको छ

जनसम्मत
जेठ १, २०७७, बिहीवार

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्न जारी बन्दाबन्दीलाई प्रदेशमा थप कडाइ गरिने बताएका छन् ।

लमजुङ–पोखरा सम्पर्क समाजद्वारा स्थापित लमजुङ–पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पोखरामा समस्यामा परेकालाई बिहीबार आयोजना गरेको राहत वितरण कार्यक्रममा मुख्यमन्त्री गुरुङले मानवको पहिलो प्राथमिकता स्वास्थ्य भएकाले पछिल्लो समय फैलिएको संक्रमणको अवस्थालाई हेरेर बन्दाबन्दीलाई कडाइ गर्न लागिएको जानकारी गराए ।

अहिलेको संकट व्यवस्थापनको पहिलो र प्रभावकारी उपाय बन्दाबन्दी मात्र भएकाले सरकारले नागरिकलाई थप सचेत बनाउँदै लकडाउनलाई कडाइका साथ पालना गर्न लगाइने उनले उल्लेख गरे ।

मुख्यमन्त्री गुरुङले भने, ‘मानिसहरु पहिले घर जान हतारिए र अहिले फेरी आउन हतारिएका छन्, लकडाउन भनेको जो जहाँ छ, त्यही बस्ने हो, खान नपाए बरु सरकारसँग माग गर्ने हो, लकडाउनको विकल्प छैन ।’

प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता डा राजेन्द्र घिमिरेले सरकारको लक्ष्यअनुसार कृषि क्षेत्रमा लगानी गर्न सहकारी संस्थाहरुलाई आग्रह गरे । सम्पर्क समिति तथा सहकारीको सहकार्यमा लकडाउनका कारणले अप्ठ्यारोमा परेका लमजुङवासी २८ नागरिकलाई चामल, दाल, तेललगायत खाद्यान्न राहतस्वरुप वितरण गरिएको सम्पर्क समितिका सचिव माधव पनेरुले जानकारी दिए ।