नवलपुरमा कोरोना संक्रमित भेटियो, गण्डकी प्रदेश समेत कोरोना संंक्रमणको जोखिममा

बिहीबार नवलपुर जिल्लाको देवचुली नगरपालिका–१२ का ४९ वर्षिय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ, कोरोना आशंकामा बागलुङकी एक वृद्ध महिला समेत आइसोलेसनमा

जनसम्मत
जेठ १, २०७७, बिहीवार

पोखरा । गण्डकी प्रदेशमा समेत कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम बढेको छ ।

नवलपुर जिल्लामा बिहीवार १ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै गण्डकी प्रदेशमा कोरोना भाइरसको जोखिम बढेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, बिहीबार नवलपुर जिल्लाको देवचुली नगरपालिका–१२ का ४९ वर्षिय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । चितवनको भरतपुरस्थित प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयको बिज्ञप्तीमा उल्लेख छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४६ पुगेको छ ।

देवचुली नगरपालिकाका ती पुरुष भारतको कलकत्ताबाट रक्सौल हुँदै मंगलवार राती भरतपुर आइपुगेका थिए । उनलाई बुधवार भरतपुर अस्पतालमा कोरोना जाँच गर्दा पोजेटिभ भेटिएको भरतपुर अस्पतालले जनाएको छ । उनको अहिले भतरपुर कोरोना अस्पतालको आइसोलेसन कक्षमा उपचार भइरहेको छ ।

गत चैतमा कोरोना संक्रमण पुष्टि भएका बागलुङका दुई संक्रमित निको भएर घर फर्किएपछि जोखिम कम भएको महशुस गरिएको गण्डकी प्रदेशमा पुनः बिरामी देखा पर्न थालेको हो ।

कोरोना आशंकामा बागलुङकी एक वृद्ध महिला आइसोलेसनमा

 

चैतमा दुई कोरोना संक्रमित देखिएको बागलुङमा फेरी अर्का एक महिलामा कोरोनाको आशंकामा आइसोलेसनमा राखिएको छ ।

धौलागिरी अंचल अस्पताल बागलुङका अनुसार, गल्कोट नगरपालिका–६ चरौदीँकी ६५ बर्षिया महिलालाई कोरोनाको शंकास्पद लक्षण देखिएपछि आइसोलेसनमा राखिएको हो । उनको थ्रोट स्वाब संकलन गरि परीक्षणका लागि पोखरा पठाइएको अस्पतालका प्रमुख डा. शैलेन्द्र बी पोखरेलले जानकारी दिएका छन् ।

डा. पोखरेलले उच्च ज्वरो र खोकी रहेका कारण उनलाई आइसोलेसनमा राखेर उपचार थालेको बताए । गलकोटकै स्वास्थ्य संस्थामा सामान्य उपचारपछि बागलुङ आएकी ति महिलामा देखिएका लक्षण कोरोनासँग मिल्दाजुल्दा रहेको अस्पतालले जनाएको छ । मुटुको समेत समस्या रहेकी उनलाई उच्च निगरानीमा राखेर उपचार गरिदैँ आएको छ ।

बिहीबार साँझसम्म उनी लगायत बागलुङबाट पठाइएका १४ जनाको थ्रोट स्वावको नतिजा आउने स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । पर्सामा संक्रमित भेटिएका मजदुरहरु बोकेर गएको बसका चालक तथा सह–चालक, सम्पर्कमा आएका व्यक्ति, भारतको नयाँ दिल्लीबाट आएका २ जना लगायत मंगलबार र बुधबार संकलन गरिएका १४ वटै स्वाब बिहीबारमात्रै पोखरा पठाइएको छ ।