नेपालका तेक्वान्दो खेलाडी कमल श्रेष्ठलाई अनलाइन तेक्वान्दो च्याम्पियनसीपमा स्वर्ण पदक

च्याम्पियनसीपमा नेपालकै जितबहादुर बोटे दोस्रो र नेपालकै पे्रमबहादुर लिम्बु तेस्रो भएका छन् । महिलातर्फ नेपालकी खेलाडी पार्वती गुरुङले ३० वर्ष मुनिको उमेर समूहमा रजत जितेकी छन्

जनसम्मत
जेठ १, २०७७, बिहीवार

पोखरा । नेपालका खेलाडी कमल श्रेष्ठले विश्व अनलाइन तेक्वान्दो च्याम्पियनसीपमा स्वर्ण जित्न सफल भएका छन् ।

फ्रान्समा जारी प्रथम खुल्ला विश्व डेडो पुम्से अनलाइन तेक्वान्दो च्याम्पियनसीपमा ३० वर्ष मुनिको विधामा कमलले स्वर्ण जितेका हुन् । सागका स्वर्ण पदक विजेता कमलले ७ दशमलव ६७ अंक ल्याएर पहिलो भएका हुन् ।

उक्त च्याम्पियनसीपमा नेपालकै जितबहादुर बोटे दोस्रो र नेपालकै पे्रमबहादुर लिम्बु तेस्रो भएका छन् । जितबहादुरले ७ दशमलव ५४ अंक ल्याउँदै दोस्रो भएका हुन् । प्रेमबहादुरले ७ दशमलव ५० अंकका साथ तेस्रो भएका हुन् ।

महिलातर्फ नेपालकी खेलाडी पार्वती गुरुङले ३० वर्ष मुनिको उमेर समूहमा रजत जितेकी छन् । अमेरिकी खेलाडी करिना बेलिसेनाभन्दा झिनो अंकले पछि पर्दै गुरुङले रजत पदक जितेकी हुन् । प्रविताले ७ दशमलव ३ अंकका साथ दोस्रो स्थान हात पारेकी हुन् । अमेरिकाकी करिना बेलिसेनाले ७ दशमलव ३२ अंकका साथ स्वर्ण पदक जितेकी थिइन् ।

विश्वभर महामारीका रूपमा फैलिएको कोराना भाइरसका करण खेलाडी प्रतियोगिताविहीन भएका बेला विभिन्न राष्ट्रमा विभिन्न विधाका अनलाइन प्रतियोगिताको आयोजना गरिँदै आएका हो ।

को हुन कमल ?

तेस्रो पटक घरेलु भुमीमै भएको १३ औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गतको तेक्वान्दो खेलमा कमल श्रेष्ठले स्वर्ण पदक हात पारेका थिए । पुम्सेको २३ देखि २९ वर्षको उमेर समूहको स्पर्धामा कमलले भारतका राहुल जैनलाई पराजित गर्दै नेपाललाई स्वर्ण पदक दिलाएका हुन् ।

कमलले ८.२७० अंक ल्याउँदै सागमा स्वर्ण जितेका थिए । उक्त स्पर्धामा कमलसँग पराजित भारतका राहुलले ८.२०० अंक ल्याएका थिए । सोही स्पर्धामा श्रीलङ्काका निसाशङ्कासे आसिङ्गेले कास्य पदक हात पारेका थिए । निसाशङ्कासेले ८.०६० अंक बटुल्दै तेस्रो भएका थिए ।

त्यसअघि, कृष्णबहादुर तामाङले तेक्वान्दोको १७ देखि २३ वर्ष उमेर समूहमा रजत पदक हात पारेका थिए । तामाङले श्रीलङ्काको रौनुका प्रभातसँग पराजित हुदैँ रजत पदकमा चित्त बुझाएका थिए ।