प्रधानमन्त्री रोजगार कार्यक्रमलाई बेरोजगार लक्षित अभियानका रुपमा अघि बढाइने

अघिल्लो वर्षदेखि सुरु भएको यो कार्यक्रमले पालिकास्तरमा बेरोजगारको सूचीमा सूचीकृतलाई रोजगारी दिने गरेको छ

जनसम्मत
जेठ ३, २०७७, शनिबार

पोखरा । सरकारले यो वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रमलाई बेरोजगार लक्षित अभियानको रुपमा कार्यक्रमको रुपमा अघि बढाउने भएको छ ।

सरकारको नीति तथा कायृक्रममा प्रधानमन्त्री रोजगार कार्यक्रमलाई अन्य रोजगारी सम्बन्धी कार्यक्रमसँग आवद्ध गरी रोजगारी सृजना गर्ने र बेरोजगार लक्षित अभियानको रुपमा कार्यन्वयन गर्ने उल्लेख छ।

अघिल्लो वर्षदेखि सुरु भएको यो कार्यक्रमले पालिकास्तरमा बेरोजगारको सूचीमा सूचीकृतलाई रोजगारी दिने गरेको छ । अब यस कार्यक्रमार्फत सीपयुक्त र दक्ष जनशक्तिलाई पनि समावेश गर्ने सरकारको योजना छ ।

अहिले सबै पालिकामा रोजगार सेवा केन्द्र स्थापना भएको र रोजगार व्यवस्थापन सूचना प्रणाली पनि लागू भएको छ । यो प्रणालीलाई थप विकास गर्ने र श्रमिकको सीपको उपयोग गर्न श्रम बजारमा सजिलो हुने गरी श्रमिकको व्यक्तिगत विवरण सहितको श्रम सूचना बैंक स्थापना गरिने भएको छ ।