नेपालमा एकै दिन मंगलबार ९० जना कोरोना संक्रमित थपिए, गण्डकी प्रदेशमा समेत थप २ जना नयाँ कोरोना संक्रमित

यहाँ ७७२ जनामा कोरोना संक्रमितको संख्या, कोरोना संक्रमित भई निको हुनेको कूल संख्या १ सय ५५ पुगेको छ, हालसम्म नेपालमा कूल ५४ हजार ४ सय २४ जनाको पीसीआर तथा ९७ हजार ९ सय ६७ जनाको आरडीटी विधिबाट परीक्षण भएको छ

जनसम्मत
जेठ १३, २०७७, मंगलवार

पोखरा । कोरोना भाइरसबाट मंगलबार थप ९० जना संक्रमित थपिएका छन् ।

कोरोनाको संक्रमितसँगै नेपालमा अब कूल संक्रमितको संख्या ७ सय ७२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबारको नियमित मिडिया व्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मंगलबार थप ९० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको जानकारी दिएका छन् ।

प्रवक्ता डा देवकोटाका अनुसार मंगलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको पीसीआर परिक्षणमा महोत्तरीका २ जना, जुम्लाका २ जना, बाराका ३ जना, रौतहटका २२ जना, सिराहाका ५ जना र धनुषाका १ जना गरी जम्मा ३५ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

भेरी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा बाँकेका ८ जना, रुपन्देही प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा अर्घाखाँची, कपिलवस्तु, र गुल्मीका २/२ जना र रुपन्देहीका १ जना गरी जम्मा ७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा देवकोटाले जानकारी दिए ।

यसैगरी, सेती प्रादेशिक अस्पतालमा कैलाली र अछामका गरी २/२ जना, पोखरामा गरिएको परीक्षणमा स्याङ्जाका २ जना, सुर्खेत प्रादेशिक अस्पतालमा सुर्खेतका १२ जना, र राप्ती स्वस्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको पीसीआर परीक्षणमा कपिलवस्तुका २४ जनामा संक्रमण पुष्टि भएको प्रवक्ता डा देवकोटाले जानकारी दिए ।

यसैगरी, मंगलबार थप ४३ जना उपचारपछि निको भई घर फर्किएपछि कोरोना संक्रमित भई निको हुनेको कूल संख्या १ सय ५५ पुगेको छ ।
नारायणी अस्पताल वीरगञ्जबाट मंगलबार ४१ जना पुरुष र २ जना महिला गरी जम्मा ४३ जना उपचारपछि निको भई घर फकिएकोे प्रवक्ता देवकोटाले जानकारी दिए ।

हालसम्म नेपालमा कूल ५४ हजार ४ सय २४ जनाको पीसीआर तथा ९७ हजार ९ सय ६७ जनाको आरडीटी विधिबाट परीक्षण भएको छ ।

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ८२ जनाको पीसीआर र २ हजार ७ सय ७५ जनाको आरडीटी विधीबाट परीक्षण गरिएको छ ।