नेपालको ६१ जिल्लामा कोरोना देखियो, पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशका स्याङ्जा र पर्वत जिल्लामा समेत ५/५ जना संक्रमित थपिए

संक्रमितमध्ये २६६ जना उपचारपछि निको भएर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २८८ जनामा संक्रमण पुष्टि भएको छ

जनसम्मत
जेठ २१, २०७७, बुधबार

पोखरा । पछिल्लो तथ्यांक अनुसार हालसम्म नेपालमा दुई हजार ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये २६६ जना उपचारपछि निको भएर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २८८ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये २७० जना पुरुष १८ जना पहिला छन् । संक्रमित जिल्लाको सूचीमा प्यूठान र पर्वत समेत २ जिल्ला थपिएका छन् ।

पछिल्लो २४ घण्टामा धुलिखेल अस्पतालमा ३८ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित सबै रौतहटका छन्।

त्यस्तै, पोखराको प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणका क्रममा स्याङ्जाका ५ र पर्वतका ५ जनामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी, धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा सप्तरीका एक जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, भेरी अस्पतालमा गरिएको परीक्षणमा बर्दियाका ३ र बाँकेका १७ जनामा संक्रमण पुष्टि भएको छ ।

सुर्खेतमा भएको परीक्षणमा ६४ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये सुर्खेतका १७ जना, दैलेखका ९ जना, सल्यानका १८ र अछामका १० जनामा संक्रमण पुष्टि भएको छ ।

मकवानपुर प्रयोगशालामा गरिएको परीक्षणमा बाराका १ जनामा संक्रमण पुष्टि भएको छ । राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दाङका १७ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, प्युठानका १ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

सेती अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कञ्चनपुरका ८ र कैलालीका १० जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ११८ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौं मेडिकल कलेजका चार जना स्वास्थ्य कर्मीसमेत छन् ।

टेकुमा भएको परीक्षणमा संक्रमण पुष्टि भएका मध्ये प्रदेश २ को धनुषाका ६, महोत्तरीका २, रौतहटका ३६, सर्लाहीका २१ र सिराहाका सिराहा १७ जना रहेका छन् ।

त्यस्तै, भक्तपुरका १, धादिङका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धादिङकी महिला परोपकार प्रसुती अस्पतालमा उपचाररत छन् ।

यसैगरी, कपिलवस्तुका १६ जना, नवलपरासी पश्चिममा १ र नवलपरासी पूर्वका एक जनामा पनि संक्रमण पुष्टि भएको छ । रुपन्देहीको सैनामैनाका १० जनामा पनि संक्रमण पुष्टि हुँदा नुवाकोटका २ जनामा पनि संक्रमित भएका छन् ।