कोरोना नियन्त्रणको लागि हालसम्म झण्डै १० अर्ब रुपैयाँ खर्च

कोरोना नियन्त्रण, उपचार, क्वरेण्टीन निर्माण र राहत वितरणमा नेपाल सरकारले ९ अर्ब ८७ करोड रुपैयाँ खर्च गरेको छ

जनसम्मत
जेठ २१, २०७७, बुधबार

पोखरा । कोरोना महामारी नियन्त्रण तथा रोकथामको लागि नेपाल सरकारले अहिलेसम्म झण्डै १० अर्ब रुपैयाँ खर्च गरेको छ ।

बुधबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकमा खर्चको विवरण सार्वजनिक गरिएको हो ।

कोरोना नियन्त्रण, उपचार, क्वरेण्टीन निर्माण र राहत वितरणमा सरकारले ९ अर्ब ८७ करोड रुपैयाँ खर्च गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण बिडारीका अनुसार कोरोना महामारी नियन्त्रण कोष, सरकारबाट विनियोजित रकम र प्रदेश तथा पालिकाले गरी ९ अर्ब ८७ करोड रुपैयाँ खर्च गरेका छन् ।

कोरोना कोष र संघीय सरकारबाट ६ अर्ब ३ करोड, प्रदेशहरुबाट १ अर्ब ८ करोड र पालिकाहरुबाट २ अर्ब ७६ करोड रुपैयाँ खर्च भएको सचिव बिडारीले बताए । पालिकहरुले गरेको खर्चको पूर्ण विवरण नआएको उनले उल्लेख गरे ।

समिति बैठकमा लकडाउनलाई सहज बनाउँदै कसरी लैजान सकिन्छ भन्ने विषयमा पनि छलफल भएको छ । जनजीवन सहज बनाउँदै लकडाउनलाई कसरी लैजाने भन्ने विषयमा स्वास्थ्य क्षेत्रका विज्ञहरुसँग छलफल भएको छ ।

बैठकमा तहगत रुपमा लकडाउन खुकुलो पार्दै लैजाने गरी मस्यौदा तयार गरी सरकारलाई बुझाउने समझदारी पनि बनेको छ ।