नेपालमा एकै दिन ३३४ जनामा देखियो कोरोना संक्रमित, हालसम्म १० को मृत्यु, संक्रमितको संख्या २ हजार ६ सय ३४

बिहीबार, दैलेखमा मात्रै १ सय ५ जनामा कोरोना पुष्टि भएको छ । त्यसैगरी प्रदेश २ का विभिन्न जिल्लामा गरी बिहीबार थप १ सय २ जनामा संक्रमण पुष्टि भएको छ, संक्रमितको संख्या २ हजार ६ सय ३४

जनसम्मत
जेठ २२, २०७७, बिहीवार

पोखरा । केही दिन यतादेखि नेपालमा कोरोना संक्रमितको संख्या बढ्दो छ ।

केही दिन यतादेखि संक्रमितको संख्यामा उच्च वृद्धि भएपनि बिहीबार अहिलेसम्मकै धेरैमा संख्यामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा थप ३३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमितमध्ये थप १ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको मन्त्रालयले जनाएको छ । बिहीबार स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले यो जानकारी दिएका हुन् । पाल्पाको

पूर्वखोलाका ४५ वर्षका पुरुषको कोरोना संक्रमणको कारण मृत्यु भएको डा.देवकोटाले जानकारी दिएका छन् ।

उनी भारतबाट ५ दिनअघि मात्र घर आएका थिए । स्थानीय क्वारेन्टाइनमा राखिएका उनको स्वास्थ्यमा समस्या देखिएपछि पाल्पाको मिसन अस्पतालमा भर्ना गरिएको थियो । २० जेठमै उनको मृत्यु भएको हो । मृत्युपछि स्वाब परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको देवकोटाले बताए ।

बिहीबार दैलेखमा मात्रै १ सय ५ जनामा कोरोना पुष्टि भएको छ । त्यसैगरी प्रदेश २ का विभिन्न जिल्लामा गरी बिहीबार थप १ सय २ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेश २ मा संक्रमितको सख्ंया ९ सय ६१ पुगेको छ ।

बिहीबार झापा, मोरङ, दैलेख, सर्लाही, महोत्तरी, धनुषा, रौतहट, बागलुङ, स्याङ्जा, म्याग्दी, पर्वत, मुगु, दाङ, नवलपरासी, बारा, सिन्धुली, ताप्लेजुङ लगायतका जिल्लामा कोरोना पुष्टि भएको छ ।