देशको अधिकांश स्थानहरुमा लगातार वर्षा, बाढीको सम्भावना रहेकाले सतर्क रहन सुझाव

बाढी पूर्वानुमान शाखाले देशभर जसो वर्षा भइरहेकाले साना तथा ठूला विभिन्न नदी खोलामा बाढी आउन सक्ने भन्दै नदी तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन आह्वान गरेको छ

जनसम्मत
जेठ २३, २०७७, शुक्रबार

पोखरा । केही स्थानबाहेक शुक्रबार बिहानैदेखि देशैभरजसो वर्षा भइरहेको मौसमविद्ले बताएका छन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहान ७ः२५ बजे गण्डकी प्रदेश लगायत काठमाडौं उपत्यकासहित बागमती, प्रदेश १, र २ सबै क्षेत्रमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ । साथै प्रदेश ५ को दाङदेखि पूर्व वर्षा भइरहेको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम बदलीको अवस्था छ ।

काठमाडौं उपत्यकादेखि पश्चिमी क्षेत्रमा बिहान २ बजेदेखि नै वर्षा सुरु भएको छ । यो प्रणाली पश्चिमबाट पूर्व सर्दै आएकाले काठमाडौं उपत्यकामा यसभन्दा केही ढिलो र योभन्दा पूर्वका क्षेत्रमा अझ केही समयपछिदेखि वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार वर्षा शुक्रबार दिनभर नै रहने देखिन्छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अरब सागरमा बनेको निसर्ग चक्रवात (सामुद्रिक आँधी) कमजोर भएर बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण अहिलेको मौसम बदली र वर्षा भएको हो । देशमा हाल पश्चिमी तथा स्थानीय वायुको समेत प्रभाव छ ।

अहिले जारी वर्षा हल्कादेखि मध्यमसम्मको हो । तर लगातार वर्षा भइरहेमा त्यो भारी वर्षाका रूपमा परिणत हुन पनि सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसैबीच बाढी पूर्वानुमान शाखाले देशभर जसो वर्षा भइरहेकाले साना तथा ठूला विभिन्न नदी खोलामा बाढी आउन सक्ने भन्दै नदी तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन आह्वान गरेको छ ।

शुक्रबार बिहानै उसले भनेको छ, ‘आज र भोली, कन्काई, कोसी, कमला, बागमती, नारायणी, तिनाउलगायत नदीमा जलसतह बढ्ने तर सतर्कता तह तलै हुने, आज प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ (पूर्वी भाग) मा मध्यम वर्षा भइरहेकाले यी प्रदेश भई बहने साना नदीमा बहाव बढ्ने, केहीमा आकस्मिक बहाव हुन सक्ने, ससाना नदी तटीय क्षेत्रमा सतर्कता अपनाऔँ ।’

यस्तै, मौसम पूर्वानुमान महाशाखाले शुक्रबार बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ, ‘देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै उच्च हिमाली भेगका केही स्थानमा हिमपातको समेत संभावना रहेकाले सतर्कता अपनाउन हुन अनुरोध छ ।’