कोरोना भाइरसबाट नेपालमा ११ जनाको मृत्यु, संक्रमित संख्या २ हजार ९ सय १२

शुक्रबार थप २ सय ७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएसँगै नेपालमा कुल संक्रमितको संख्या २ हजार ९ सय १२ पुगेको छ

जनसम्मत
जेठ २३, २०७७, शुक्रबार

पोखरा । नेपालमा कोरोना भाइरसको संक्रमणपछि मृत्यु हुनेको सख्या ११ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबार दिएको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बिहीबार (२२ गते) मृत्यु भएका सुर्खेतका २८ वर्षिय पुरुषमा संक्रमण पुष्टि भएपछि मृतकको संख्या ११ पुगेको जानकारी दिए ।

प्रवक्ता डा देवकोटाले दिएको जानकारी अनुसार मृतक पुरुष यही जेठ ८ गते भारतबाट फर्किएर १४ दिनसम्म स्थानीय क्वारेन्टाइनमा बसेका थिए ।

क्वारेन्टाइनमा रहँदासम्म संक्रमणको कुनै लक्षण नदेखिएको र आरडीटी परीक्षणमा समेत संक्रमण नदेखिएपछि घर फर्किएको र सोही दिन मृत्यु भएपछि पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको प्रवक्ता डा देवकोटाले जानकारी दिएका छन् ।

यसैगरी, शुक्रबार थप २ सय ७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएसँगै नेपालमा कुल संक्रमितको संख्या २ हजार ९ सय १२ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा देवकोटाका अनुसार विराटनगर प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा सुनसरीका ८ जना, मोरङका ६ र झापाका १ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा रुपन्देही सैनामैनाका १८ जना, नवलपरासीका २ जना, अर्घाखाँची र पाल्पाका १/१ जना, किटजन्य प्रयोगशाला हेटौडामा गरिएको परीक्षणमा सिन्धुली र बाराका २/२ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा तनहुँका २ जनामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सुनसरीका १३ जना, भोजपुरका ५ जना र झापाका १ जना, सेती अस्पतालमा गरिएका परीक्षणमा कैलालीका ४ जना, डडेलधुराका ५ जना, अछाम र बझाङका १/१ जना, धुलिखेल अस्पतालमा गरिएको परीक्षणम रामेछापका १७ जना र काभ्रेका ५ जना, कोशी अस्पतालमा गरिएको परीक्षणमा झापाका १० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणम दैलेखका ९० जना, जुम्लाका ३ जना, तथा हुम्ला, दोलखा, रामेछाप र गोरखाका १/१ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दाङ र सुर्खेतका १/१ जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका ४४ जना, महोत्तरीका १७ जना, रौतहटका ६ जना, धनुषाका ४ जना तथा कास्की, गुल्मी र बाराका १/१ जनामा संक्रमण पुष्टि भएको छ ।

नेपालमा हालसम्म ६८ जिल्लाका २ हजार ७ सय १७ जना पुरुष र १ सय ९५ जना महिलामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

यसैगरी, शुक्रबार थप ४३ जना उपचारपछि निको भई डिस्चार्ज भएसँगै हालसम्म जम्मा ३ सय ३३ जना उपचारपछि निको भई घर फर्किएका छन् ।

शुक्रबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ३ जना, कोशी अस्पताल विराटनगरबाट २७ जना, सुशिल कोरइराला प्रखर क्यान्सर अस्पताल बाँके र लायन्स डेन्टल अस्पतालबाट १३ जना गरी जम्मा ४३ जना कोरोना संक्रमण मुक्त भई घर फर्किएको मन्त्रालयले जनाएको छ ।

हालसम्म २ सय ७२ जना पुरुष र ६१ जना महिला कोरोना भाइरसको संक्रमणबाट मुक्त भई घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।