लक्ष्मणले जिते भर्चुअल तेक्वान्दो पुम्सेको प्रतिस्पर्धामा स्वर्ण पदक

महिलातर्फ ४० वर्ष मुनिको विधामा रेखमाया गुरुङले काश्य पदक प्राप्त गरेकी छिन् । नेपालबाट ६ खेलाडी सहभागी बनेकोमा सुस्मिता केसी र दावा शेर्पाको खेल हुन बाँकी छ

जनसम्मत
जेठ २४, २०७७, शनिबार

पोखरा । नेपाल प्रहरीका तेक्वान्दो प्रशिक्षक एवं अन्तर्राष्ट्रिय खेलाडी लक्ष्मणबहादुर ऐरले भर्चुअल तेक्वान्दो पुम्सेको प्रतिस्पर्धामा स्वर्ण पदक जितेका छन् ।

अमेरिकाको पोर्टल्यान्डमा ४ जुनबाट जारी पुम्सेको भर्चुअल प्रतिस्पर्धामा नेपालबाट सहभागी लक्ष्मणले २० भन्दा बढी देशको सहभागी खेलाडीलाई पछि पार्दै स्वर्ण पदक जितेका हुन् ।

प्रतियोगिता अन्तर्गत ५० वर्षमुनीको उमेरसमूहको प्रतिस्पर्धामा स्वर्ण पदक जितेका हुन् । उनले लाइभ प्रतिस्पर्धामा ६.७३ अंक बटुल्दै स्वर्ण पदक हात पारे ।

त्यस्तै, महिलातर्फ ४० वर्ष मुनिको विधामा रेखमाया गुरुङले काश्य पदक प्राप्त गरेकी छिन् । नेपालबाट ६ खेलाडी सहभागी बनेकोमा सुस्मिता केसी र दावा शेर्पाको खेल हुन बाँकी छ । त्यस्तै अन्य खेलाडी विवेक राई र आशिष चन्द बाहिरिएका छन् ।

यसअघि, पहिलोपटक युरोपमा भएको प्रतिस्पर्धा युरोपियन पुम्से र विश्व पुम्से च्याम्पियनसीपमा पनि लक्ष्मणले सहभागीता जनाएका थिए । उनले त्यसअघि लामो समयसम्म प्रशिक्षण बिहिन भएकाले खेलमा असर परिरहेको बताउँदै आएका थिए । पछिल्लो समयमा सहभागी बनेका तेस्रो प्रतियोगितामा भने उनी स्वर्ण पदक प्राप्त गर्न सफल भए । त्यसले पनि उनी अहिले नियमित प्रशिक्षणमा व्यस्त छन् ।
यसअघि, फ्रान्समा सम्पन्न विश्व पुम्से च्यम्पियनसीपमा ३० वर्षमुनी पुरुषतर्फ नेपालबाट सहभागी बनेका तीन खेलाडीले स्वर्ण, रजत र कांस्य पदक जितेका थिए । महिलातर्फ पनि पार्वती गुरुङले नेपालको तर्फबाट पदक प्राप्त गरेकी थिइन् ।

कोरोना भाइरसको जोखिमलाई न्यूनीकरण गर्नका लागि विश्वभरी खेलकुद प्रतिबन्धजस्तै बनेको समयमा पनि भर्चुअल तेक्वान्दोको पुम्से विधामा खेलाडीले प्रतिस्पर्धा गरेका हुन् । हाल अमेरिकाको पोर्टल्यान्डमा अनलाइनमार्फत पुम्सेको विश्वस्तरीय र युरोपियन प्रतिस्पर्धा गराइएको हो । अमेरिकामा संचालन भइरहेको प्रतियोगिता जुन ७ सम्म चल्नेछ ।