कोरोना संक्रमितका कारण ज्यान गुमाएकाको २१ घण्टापछि पोखरामा अन्तिम संस्कार गरियो, गण्डकी प्रदेशमा थपियो ५ नयाँ कोरोना संक्रमित

सोमबार मात्रै यस प्रदेशमा थप ५ नयाँ संक्रमित थपिएका छन् । उनीहरु सबै नवलपरासी जिल्ला (बर्दघाट सुस्तापूर्व) का हुन्

जनसम्मत
जेठ २६, २०७७, सोमबार

पोखरा । कोरोना संक्रमणबाट पोखरामा मृत्यु भएका व्यक्तिको २१ घन्टापछि अन्तिम संस्कार गरिएको छ ।

पोखरास्थित रिठ्ठेघाटमा नेपाली सेना डेडिकेटेड टिमद्वारा शव व्यवथापन गर्न मात्रै ३ घन्टा लागेको थियो ।

स्याङ्जाको वालिङ नगरपालिकाका ६० वर्षीय व्यक्तिको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा गएराति ११ः३० बजे मृत्यु भएको थियो ।

यता, गण्डकी प्रदेशमा दिनानुदिन कोरोना संक्रमितको संख्या बढ्दो छ । सोमबार मात्रै यस प्रदेशमा थप ५ नयाँ संक्रमित थपिएका छन् । उनीहरु सबै नवलपरासी जिल्ला (बर्दघाट सुस्तापूर्व) का हुन् ।

गैँडाकोट नगरपालिका स्थायी ठेगाना भई सोही पालिकाको क्वारेन्टाइनमा रहेका वर्ष ३३ र ३९ का २ जना पुरुष तथा कावासोती नगरपालिका स्थायी ठेगाना भएका सोही पालिकाको क्वारेन्टाइनमा रहेका वर्ष २१ र ४० का २ जना पुरुष र वर्ष ६३ की महिलामा कोरोना संक्रमणको पुष्टि भएको होे ।

प्रदेश स्वास्थ्य निर्देशनालयले सोमबार साँझ विज्ञप्ति जारी गरी उनीहरुमा कोरोना संक्रमण पुष्टि गरेको हो । संक्रमित सबैको रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसन कक्षमा उपचारार्थ लगिएको छ ।

सोमबार नै पोखराको क्वारेन्टाइनमा रहँदै आएका पर्वतका ४२ वर्षीय पुरुषमा पनि कोरोना भेटिएको थियो ।

गण्डकी प्रदेशअन्तर्गत स्याङ्जा वालिङका ५८ वर्षीय कोरोना संक्रमित पुरुषको गएराति पोखरामा ज्यान गएको थियो । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १२० पुगेको छ ।