गण्डकी प्रदेशद्वारा आ.व. ०७७/७८का लागि ३४ अर्ब ८४ कराेडकाे बजेट प्रस्ताव

जनसम्मत
असार २, २०७७, मंगलवार

गण्डकी प्रदेश सरकारले आ.व. ०७७/७८का लागि ३४ अर्ब ८४ करोड २१ लाख ६० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले चालुतर्फ १४ अर्ब ३४ करोड २६ लाख पुँजीगततर्फ १९ अर्ब ९९ करोड ९४ लाख रुपयाँको बजेट सार्वजनिक गर्नुभयाे ।

साेमबार प्रदेशसभाकाे बैठकमा कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणमा आ.व. ०७७/७८काे बजेट केन्द्रित हुने मन्त्री गुरूङले उल्लेख गर्नुभयाे ।

प्रदेशले स्थानीय तहमा हस्तान्तरण हुने वित्तीय समानीकरण अनुदान, समपूरक अनुदान र विशेष अनुदानलाई आगामी आर्थिक वर्षमा नघटाउने बताएको छ ।

वित्तीय समानीकरण अनुदानतर्फ १ अर्ब ५ करोड रुपैयाँ, समपूरक अनुदानतर्फ ६२ करोड ७० लाख र सशर्त अनुदानतर्फ २५ करोड ८० लाख र विशेष अनुदान उपलब्ध गराउन १९ करोड ६० लाख विनियोजन भएको छ ।

सरकारले ल्याएको बजेटले कोभिड–१९ र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै ६० कराेड ४० लाख बजेट विनियाेजन गरिएकाे छ । उक्त रकम काेराेना परीक्षण, गुणस्तरीय क्वारेन्टाइन, निर्माण र सञ्चालन, संक्रमितको उपचारका लागि विशेष अस्पताल र आइसोलेसन कक्षको स्थापना र सञ्चालन, सवै जिल्ला अस्पतालहरूमा शय्या थप गरी सघन उपचार कक्ष स्थापनामा खर्च गरिनेछ ।

कोरोना महामारीका कारण प्रभावित उद्योग व्यवसायका लागि विशेष कार्यक्रम मार्फत् सञ्चालनकाे वातावरण बनाउने बजेटमा उल्लेख छ । बेराेजगारलाइ राेजगारकाे व्यवस्था गर्ने कार्यक्रम सञ्चालन गर्ने पनि मन्त्री गुरूङले बजेट बक्तव्यमा उल्लेख गर्नुभयाे ।

भूमिव्यवस्था, कृषि तथा सहकारी क्षेत्रको कार्यक्रम कार्यान्वयनका लागि कुल ३ अर्ब १६ करोड १० लाख बजेट विनियोजन भएको छ ।

बजेटमा आगामी वर्ष प्रशासनिक खर्चमा मितव्ययिता अपनाउने बताउँदै गण्डकी प्रदेशले अतिरिक्त समय भत्ता, बैठक भत्ता, खाना तथा खाजा खर्च, जोखिम भत्ता लगायतका सबै प्रकारका भत्ता खारेज गरेको छ ।