गम्भीर बिरामीको ज्यान जोगाउन सक्ने डेक्सामेथासोन नामक कोरोना औषधि भेटियो

डेक्सामेथासोनले भेन्टीलेटरमा राखिएका बिरामी ८ जनामध्ये १ जना र अक्सिजन दिइएका २५ जनामध्ये १ जनाको जीवन जोगाउने देखिएको छ

जनसम्मत
असार ३, २०७७, बुधबार

पोखरा । सस्तो र आम रूपमा पाइने एउटा डेक्सामेथासोन नामक औषधिले कोरोना भाइरसका कारण गम्भीर बिरामी भएका व्यक्तिहरूको जीवन जोगाउन मद्दत गर्ने यूकेका स्वास्थ्य विज्ञहरूले बताएका छन् ।

कम मात्रामा दिइने उक्त स्टेरोइड औषधिलाई हालसम्म घातक देखिएको कोरोनाभाइरसको लडाइँमा उल्लेख्य उपलब्धी मानिएको छ । यसले भेन्टीलेटरमा राखिएका बिरामी ८ जनामध्ये १ जना र अक्सिजन दिइएका २५ जनामध्ये १ जनाको जीवन जोगाउने देखिएको छ ।

कोरोना भाइरसको जारी उपचार विधिबारे विश्वभरि गरिएका ठूला परीक्षणहरूको यो औषधि पनि एउटा हिस्सा रहेको थियो ।

अनुसन्धानकर्ताहरूले यदी उक्त औषधि शुरूदेखि युकेमा पाइएको भए ५ हजार जीवन जोगिने थियो भनी उल्लेख गरेका छन् ।

यो औषधिको मूल्य पनि सस्तो रहेको र यसले उच्च संयामा कोभिड–१९ का बिरामीहरू देखिएका गरिब देशहरूलाई ठूलो राहत दिनसक्ने ठानिएको छ ।

पुरानो औषधि

बीबीसीका स्वास्थ्य संवाददाता फर्गुस वाल्स भन्छन्, ‘मृत्युदर घटाउन सहयोगी हुने प्रमाणित औषधि नयाँ होइन र यो खासै महँगो छैन । पुरानो र सस्तो खालको स्टेरोइड हो ।’

उनी भन्छन्, ‘यो खुसी मनाउनुपर्ने विषय हो किनभने संसारभरका मानिसहरूले तत्कालै लाभ पाउँछन् । त्यही भएर परीक्षणको परिणामलाई तत्कालै बाहिर ल्याइएको छ । डेक्सामेथासोनलाई सन् १९६० देखि नै दम देखि रूमटोइड आर्थ्राइटिसको उपचारका लागि प्रयोग गर्ने गरिएको छ ।’

गरिब देशलाई लाभ

कोभिड–१९ को संक्रमण देखा परेपछि भेन्टिलेटरमा राख्नुपरेका आधा बिरामीहरूको ज्यान गइरहेको वर्तमान सन्दर्भमा उक्त जोखिमलाई एक तिहाइले घटाउनुलाई ठूलो उपलब्धी मानिएको छ ।

सघन कक्षमा राखिएका व्यक्तिहरूलाई नशामार्फत उक्त औषधि दिने गरिन्छ भने कम गम्भीर बिरामीहरूलाई चक्कीका रूपमा दिने गरिन्छ । अहिलेसम्म यो बाहेक इबोला भाइरस नियन्त्रणका लागि बिरामीहरूलाई दिइएको रेम्डेसिभिर नामक औषधिले कोभिड–१९ का बिरामीहरूलाई फाइदा पु¥याउने देखिएको छ ।

त्यसले कोभिड–१९ को लक्षण रहने अवधिलाई १५ दिनबाट घटाएर ११ मा झार्ने देखिन्छ तर त्यसबाट मृत्युदर घटेको या नघटेको बलियो प्रमाण भने देखिएको थिएन ।

त्यसमाथि डेक्सामेथासोनको विपरीत रेम्डेसिभिर नयाँ औषधि हो र यसको आपूर्ति सीमित अनि मूल्य पनि तोकिन बाँकी थियो ।

बीबीसी नेपाली सेवामा समाचार छ