तनहुँमा ६ चितुवा मरे, ८ को जीवितै उद्धार

जनसम्मत
श्रावण ४, २०७७, आइतबार

तनहुँ । आर्थिक वर्ष ०७६/०७७ मा तनहुँका विभिन्न स्थानमा गरी १ बच्चासहित ६ चितुवा मरेको जनाएको छ ।

सो अवधिमा ८ चितुवाको जीवितै उद्धार गरिएको छ । डिभिजन वन कार्यालय तनहुँले जिल्लाको भानु नगरपालिकामा ५ र व्यास नगरपालिकामा १ चितुवा मृत फेला परेको जनाएको हो । कार्यालयका अनुसार भानु नगरपालिकामा ५, बन्दिपुर नगरपालिकामा २ र व्यास नगरपालिकामा १ गरी ८ चितुवाको उद्धार गरेको हो । उद्धार गरिएका ति चितुवाहरुलाई मणिमुकुन्द सेन पार्क, चितवन राष्ट्रिय निकुञ्ज, पचभैया प्राणी उद्यान लगायतका स्थानमा पठाइएको छ ।

त्यसैगरी ४ वटा रतुवा मृग र एक अजिङ्गरको जीवितै उद्धार गरी वनमा लगेर छोडिएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ । भिमाद नगरपालिकामा २ , देवघाट र व्यास नगरपालिकामा १/१ रतुवा मृग तथा बन्दिपुरमा एक अजिङ्गर फेला परेकोले उद्धार गरी सुरक्षित स्थानमा छोडिएको कार्यालयका सहायक वन अधिकृत बाबुराम उप्रेतीले जानकारी दिए ।

 

चितुवाको आक्रमणबाट ६ जनाको मृत्यु

 

तनहुँका विभिन्न क्षेत्रमा चितुवाको आक्रमणमा परी ६ बालबालिकाको मृत्यु भएको छ । सबैभन्दा धेरै भानु नगरपालिकामा ३, आँबुखैरेनी, बन्दिपुर र शुक्लागण्डकीमा १/१ गरी ६ जनाको मृत्यु भएको हो । चितुवाको आक्रमणमा परी १ पुरुष र १ महिला गरी २ जना घाइते भएकोले उपचार पश्चात उनीहरु घर फर्किसकेका छन् ।

नेपाल सरकारले चितुवाबाट मृतकका परिवारलाई १० लाख रुपैयाँका दरले र घाइतेलाई २ लाख रुपैयाँका दरले राहत वितरण गरेको वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिएका छन् । चितुवाले मानिसमाथि आक्रमण गर्न थालेपछि डिभिजन वन कार्यालय र सामुदायिक वन उपभोक्ता समितिको संयुक्त प्रयासमा १६ वटा परम्परागत खोर निर्माण गरी पासो थापिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषको टोली ल्याएर उक्त पराम्परागत खोर निर्माण गरिएको हो ।

चितुवा संरक्षणले पर्यावरण सन्तुलन राख्न मद्दत पुग्ने हुँदा एक स्थानबाट अर्को स्थानमा स्थानान्तरण गर्नु मात्रै समस्याको समाधान नभएको बरालले जानकारी दिए । वनमा चितुवाका लागि आवश्यक आहार नभएपछि मानव बस्तीमा पसेर क्षति गर्ने गरेकोले चितुवाको आहार प्रजातिका खानेकुराको व्यवस्था गर्दै चितुवाको संरक्षण गर्नुपर्ने उनले बताए ।

चितुवाबाट धेरै धनजनको क्षति भएको जिल्लाको भानु नगरपालिका क्षेत्रका ४२ हेक्टर जमीनमा ३६ वटा विन्दुमा सीसी क्यामेरा जडान गरी चितुवा गणना गर्ने कार्ययोजना रहेको उनले बताए ।

 

५९ पशुधनको क्षति

डिभिजन वन कार्यालयले दिएको जानकारी अनुसार जिल्लामा चितुवा आक्रमणबाट ४८ वटा घटनामा ५९ पशुधनको क्षति भएको छ । भेडा, बाख्रा ३६, गाई ८, सुगुँर, बँगुर ६ र भैँसी २ को क्षति भएको हो । पशु क्षतिमा परेका परिवारलाई २ लाख १८ हजार ५ सय रुपैयाँ राहत वितरण गरिएको प्रमुख बरालले जानकारी दिए ।

 

रासस