कोरोना संक्रमित ५ हजार ८ सय जना थपिए, ७४ हजार २ सय ५२ जना संक्रमित निको भए

नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ, नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ६ सय १४ पुगेको छ

जनसम्मत
असाेज २४, २०७७, शनिबार

पोखरा । पछिल्लो २४ घन्टामा देशभर थप ५ हजार ८ जनामा संक्रमण पुष्टि भएको छ ।

यो संख्या एकैदिन संक्रमण देखिएकोमध्ये अहिलेसम्मकै सबैभन्दा बढी हो । यससँगै देशभर हालसम्म संक्रमित हुनेको संख्या १ लाख ५ हजार ६ सय ८४ पुगेको छ ।

यस अवधिमा १९ हजार ३ सय २० जनाको नमुना पीसीआर विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट ११ लाख ६४ हजार ५५७ परीक्षणहरु गरिएका छन् ।

पछिल्लो २४ घन्टामा १२ सय २९ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । हालसम्म ७४ हजार २ सय ५२ जना संक्रमित निको भइसकेको मन्त्रालयले जनाएको छ ।

हाल सक्रिय संक्रमित भने ३० हजार ८ सय १८ जना छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संस्थागत आइसोलेसनमा १३ हजार ६ सय ५४ जना र होम आइसोलेसनमा १७ हजार १ सय ६४ जना रहेको मन्त्रालयले जनाएको छ । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार ६ सय ८६ जना रहेका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ६ सय १४ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ महिला र १२ पुरुषको कोरोनाले मृत्यु भएको छ । जसमा काठमाडौंका १ महिला र २ जना पुरुष, धादिङकी १ महिलाको मृत्यु भएको छ ।

त्यसैगरी, सुनसरीका १ जना पुरुष, मोरङका २ पुरुष, सर्लाहीका १ पुरुष, ललितपुरका २ पुरुष, भक्तपुरका १ पुरुष, मकवानपुरका १ पुरुष, रुपन्देहीका १ पुरुष र नवलपरासीपूर्वका १ पुरुषको कोरोनाले मृत्यु भएको छ ।