भारतमा कोभिड महामारीको तेस्रो वेभको खतरा

थप ३८ हजार ७९ जनामा नयाँ संक्रमण, ४ लाख, १३ हजार ९१ जनाको मृत्यु, ३९ करोड, ९६ लाख ९५ हजार, ८ सय ७९ जनालाई खोप

जनसम्मत
श्रावण ३, २०७८, आइतबार

भारतको सरकारले नै कोभिड १९ को महामारीको तेस्रो लहरको खतरा रहेको जनाएको छ।

भारतको सरकारले नै भारतमा महामारीको तेस्रो वेभ आउनसक्ने बताएको हो।

सरकारले नागरिकहरुलाई महामारीबाट बच्न आवश्यक सतर्कता अपनाउनुपर्नेमा जोड दिएको हो।

भारत सरकारको स्वास्थ्यसम्बन्धी अनुसन्धान गर्ने निकाय नेशनल इन्स्टिच्युट फर ट्रान्सफरमिङ इन्डियाका सदस्य भी के पाउलले सो चेतावनी दिएको समाचार संस्था सिन्ह्वामा जनाइएको छ।

समाचार अनुसार पाउलले अहिलेको अवस्थामा थप सतर्कता अपनाउने र आवश्यक तयारी नगर्ने हो भने भारतमा तेस्रो वेभको खतरा रहेको छ र त्यो वेभ आगामी १०० देखि करिब १२५ दिनमा आउनसक्ने बताएका छन् ।

उनले भनेका छन, ‘हाम्रो जनसंख्या धेरै छ र यसका कारण यहाँको अवस्था निकै खतरा पनि हुनसक्छ र हामीले यस विषयमा आवश्यक सतर्कता अपनाउन सकेनौँ भने यसले हामीलाई ठूलो क्षति हुन सक्नेछ।’

हालै विश्व स्वास्थ्य संगठनले कोभिड १९ को विश्वको अवस्थाको मूल्यांकन गर्दै आगामी दिनमा पनि यो चुनौती रहेको बताएको थियो।

विश्व स्वास्थ्य संगठनले पनि अहिले विश्वका कतिपय देशमा देखिएको यो महामारी विरुद्धको सतर्कताको अवस्था हेर्दा त्यो पर्याप्त नभएको र आवश्यक मात्रामा आगामी दिनमा थप सतर्कता अपनाउनुपर्ने बताएको थियो।

यसअघि पनि भारतका अधिकारीहरुले आगामी अगष्ट महिनाको अन्त्यतिरबाट यो भारतमा कोभिड १९ को तेस्रो वेभ आउनसक्ने खतरा रहेको बताउँदै आएका थिए ।

थप ३८ हजार ७९ जनामा नयाँ संक्रमण

भारतमा कोरोनाभाइरसबाट नयाँ ३८ हजार ७९ जना संक्रमित भएका छन्।

संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार अघिल्लो केही दिनयता दैनिक संक्रमितको संख्याको तुलनामा गत २४ घण्टामा घटेको छ।

भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या ३ करोड १० लाख ६४ हजार ९ सय ८ पुगेको समाचार संस्था एएनआईमा जनाइएको छ।

भारतमा अहिले पनि कोरोनाभाइरसबाट संक्रमित अवस्थामै रहेकाको संख्या ४ लाख २४ हजार २५ रहेको अधिकारीले जनाएका छन्। पछिल्लो

४ लाख १३ हजारको मृत्यु

एक दिनमा कोरोनाभाइरसका कारण थप ५ सय ६० जनाको मृत्यु भएको पनि मन्त्रालयले शनिबार जानकारी दिएको छ। समाचार संस्था एएनआईका अनुसार कोरोनाभाइरसबाट मृत्यु भएकाको कुल संख्या भारतमा अहिलेसम्म ४ लाख १३ हजार ९१ पुगेको पनि सो मन्त्रालयले जनाएको छ।

करिब ४० करोडले लगाए खोप

भारतको चिकित्सा अनुसन्धान परिषद्ले अहिलेसम्म कुल ४४ करोड २० लाख २१ हजार ९ सय ५४ जनाको स्वाब परीक्षण गरिएको छ । तीमध्ये १९ लाख ९८ हजार ७ सय १५ जनाको स्वाब परीक्षण जुलाई १६ का दिन भएको छ।

त्यसैगरी, भारतमा अहिलेसम्म ३९ करोड ९६ लाख ९५ हजार ८ सय ७९ ओटा कोरोना भाइरसविरुद्धको खोप प्रयोग भएको छ। तीमध्ये ४२ लाख १२ हजार ५ सय ५७ जनालाई पछिल्लो २४ घण्टामा खोप लगाइएको छ।