नेताहरूको कार्यविभाजन गर्दै माओवादी केन्द्र

माओवादीको महाधिवेशन पुस ११ देखि १३ मा गर्ने प्रचण्डको प्रस्ताव

जनसम्मत
श्रावण ३०, २०७८, शनिबार

नेकपा (माओवादी केन्द्र)को शनिबारदेखि जारी बैठकले नेताहरुको कार्यविभाजन गर्ने भएको छ। शनिबार बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा सुरु भएको बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ।

‘सांगठनिक अजेन्डा प्रस्तुत गरिएको छ। त्यसमा मुख्यतः अहिले हाम्रो कार्यविभाजन हुनेछ। प्रदेशको विभागहरुको र आवश्यक कार्यविभाजनहरु गर्नेछौं’, बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने।

बैठकमा प्रचण्डले राजनीतिक प्रस्ताव पनि प्रस्तुत गरेका छन्। जहाँ पुस ११, १२ र १३ गते राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गरिएको श्रेष्ठले बताए। प्रचण्डको प्रस्तावमा प्रतिगमनप्रति अझै पनि सचेत हुनुपर्ने बताइएको श्रेष्ठको भनाइ छ।

‘प्रतिगमनको खतरा कायम रहँदासम्म वाम लोकतान्त्रिक सहकार्य गर्नुपर्छ। अब हामीले फेरि कम्युनिस्ट आन्दोलनलाई क्रान्तिकारी पुनर्गठन गरेर हामीले सबै शक्तिहरुलाई एकताबद्ध गरेर सामाजिक आर्थिक रुपान्तरणको काम अगाडि बढाउन ध्यान केन्द्रित गर्नुपर्छ। त्यसको निम्ति सबैभन्दा पहिलो आवश्यकता हाम्रो पार्टीको व्यवस्थित ढंगले सुदृढ गर्नु हो। क्रान्तिकारिकरण गर्नु हो। त्यसो भयो भने हामी वामलोकतान्त्रिक सहकार्य, वामपन्थीहरुको संयुक्त मोर्चा र क्रान्तिकारी एकीरकण र ध्रुवीकरणको प्रक्रिया अगाडि बढाउन सक्छौं भन्ने निष्कर्ष प्रस्तुत गरिएको छ’, उनले भने।

पुस ११ देखि राष्ट्रिय सम्मेलन

नेकपा माओवादी केन्द्रको महाधिवेशन पुसमा गर्ने प्रस्ताव गरिएको छ। शनिबार काठमाडौँमा बसेको केन्द्रीय कमिटीको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महाधिवेशन पुस ११, १२ र १३ गते गर्ने प्रस्ताव अघि सारेका हुन्। बैठकमा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले राजनीतिक प्रतिवेदन एवं साङ्गठानिक प्रतिवेदन पेश गरेका छन्। आइतबार बिहान पुन बैठक बस्‍ने छ भने समूहगत छलफल पनि हुनेछ।