नेकपा माओवादी (केन्द्र) का नेताहरुलाई जिम्मेवारी तोकियो

पार्टीको प्रवक्तामा कृष्णबहादुर महरा, विशेष समितिको इञ्चार्जमा लीलामणि पोखरेल, सङ्गठन विभागको प्रमुखमा जनार्दन शर्मा, सम्पर्क समन्वय समितिको इञ्चार्जमा डिलाराम आचार्य र नेता देव गुरुङलाई सङ्घीय संसदीय विभाग प्रमुख, वर्षमान पुनलाई अर्थ तथा योजना विभाग प्रमुख र केन्द्रीय कार्यालय इञ्चार्जमा मातृका यादव, उपभोक्ता हित तथा आपूर्ति विभाग हरिबोल गजुरेल, कृषि तथा भूमिसुधार विभाग लीलामणि पोखरेललाई जलस्रोत सिँचाइ तथा ऊर्जा विभाग प्रमुख र विदेश मामला विभागमा सुरेन्द्र कार्कीलाई जिम्मेवारी दिइएको छ

जनसम्मत
भाद्र ९, २०७८, बुधबार

नेकपा (माओवादी केन्द्र)को प्रवक्तामा कृष्णबहादुर महरालाई चयन गरिएको छ।

उनलाई प्रवक्तासँगै प्रचार तथा प्रकाशन विभाग र राष्ट्रिय सुरक्षा विभाग प्रमुखको समेत जिम्मेवारी दिइएको छ। यसअघि प्रवक्ताको जिम्मेवारीमा रहनुभएका नेता नारायणकाजी श्रेष्ठलाई प्रवास समितिकोे जिम्मेवारी  दिइएको छ। यही भदौ ५ र ६ गते बसेको केन्द्रीयसमिति बैठकबाट सो पार्टीले केन्द्रीय विभाग,  प्रदेश, प्रवास, जिल्ला समन्वय, उपत्यका समन्वय, सम्पर्कजस्ता समिति गठन गरेर नेताहरुको जिम्मेवारी तोक्ने निर्णय गरेको हो।

बैठकको निर्णयानुसार प्रदेश नं १ को इञ्चार्जमा सुरेन्द्र कार्की (राम कार्की), प्रदेश नं २ को इञ्चार्जमा गणेश शाह, वाग्मतीको इञ्चार्जमा हितमान शाक्य, गण्डकीको इञ्चार्जमा हितराज पाण्डे, लुम्बिनीको इञ्चार्जमा चक्रपाणि खनाल, कर्णालीको इञ्चार्जमा शक्ति बस्नेत र सुदूरपश्चिम प्रदेशको इञ्चार्जमा खगराज भट्टलाई तोकिएको छ।

यसैगरी, विशेष समितिको इञ्चार्जमा लीलामणि पोखरेल, सम्पर्क समन्वय समितिको इञ्चार्जमा डिलाराम आचार्यलाई तोकिइएको छ भने पार्टी स्कुल विभागको इञ्चार्ज अध्यक्ष पुष्पकमल दाहाल आफैले राख्नुभएको छ। पार्टीको शक्तिशाली विभागका रुपमा रहेको सङ्गठन विभागको प्रमुखमा जनार्दन शर्मालाई जिम्मेवारी दिइएको छ।

यस्तै नेता देव गुरुङलाई सङ्घीय संसदीय विभाग प्रमुख, वर्षमान पुनलाई अर्थ तथा योजना विभाग प्रमुख र केन्द्रीय कार्यालय इञ्चार्जमा मातृका यादव, उपभोक्ता हित तथा आपूर्ति विभाग हरिबोल गजुरेल, कृषि तथा भूमिसुधार विभाग लीलामणि पोखरेल, जलस्रोत सिँचाइ तथा ऊर्जा विभाग प्रमुख र विदेश मामला विभागमा सुरेन्द्र कार्कीलगायतले जिम्मेवारी पाएका छन्।

बैठकले कोभिड महामारीमा नागरिकलाई सहयोग गर्ने विषय र कोभिडसँग जुध्न एकताबद्ध हने विषयमा पनि छलफल गरेको छ। बैठकले पार्टीलाई व्यवस्थित र विधिसङ्गत रूपले सञ्चालन गर्दै अन्य कम्युनिस्ट शक्तिहरूसँग एकता र ध्रुवीकरणका लागि वार्ता गर्न पहल गर्ने निर्णय गरेको छ।