साहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगिताको चौथो संस्करण हेटौडामा

प्रतियोगितामा ६ प्रदेशका टोलीहरु सहित एक बिभागिय टोली (नेपाल आर्मी) ले सहभागिता जनाउने छन्।

जनसम्मत
मंसिर १६, २०७८, बिहीवार

नेपाल हक्की संघको आयोजनामा तथा जिल्ला हक्की संघ मकवानपुरको सह–आयोजनामा आउँदो पुसको दोस्रो हप्तादेखि चौथो साहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगिता हुने भएको छ।

प्रतियोगिता आगामी पौष महिनाको १३ देखि १७ गते सम्म बागमती प्रदेशको राजधानी हेटौडामा हुने भएको छ।

प्रतियोगितामा ६ प्रदेशका टोलीहरु सहित एक बिभागिय टोली (नेपाल आर्मी) ले सहभागिता जनाउने छन्। राष्ट्रिय खेलकुद परिषद्, प्रदेश खेलकुद परिषद् बागमती, हेटौडा उप–महानगरपालिका, जिल्ला समन्वय समिति मकवानपुर र बिभिन्न संघसंस्थाहरुको सहयोगमा प्रतियोगिता आयोजनामा हुनेछ।

स्वर्गीय सहाना प्रधानको स्मृति दिवसको अवसर पारेर नेपाल हक्की संघले विगत ३ बर्षदेखी महिला राष्ट्रिय प्रतियोगिता आयोजना गर्दै आएको छ। प्रतियोगिताको पहिलो संस्करण नेपाल आर्मीको महिला टोलीले जितेको थियो भने दोस्रो संस्करणको उपाधि लुम्बनी प्रदेशले हात पारेको थियो।

त्यस्तै गत माघ महिनामा सुदुरपश्चिम प्रदेशको महेन्द्र नगरमा भएको तेस्रो संस्करणको उपाधि बिभागिय टोली नेपाल आर्मीले जितेको थियो। प्रतियोगिताको पहिलो संस्करण सफलतापूर्वक आयोजना गरेको मकवानपुरले पुनः प्रतियोगिता आयोजना गर्ने अवसर पाएको हो।