नेपालमा पनि नयाँ भेरियन्ट ओमिक्रोन भेटियो

दक्षिण अफ्रिकामा पहिलोपटक पहिचान भएको ओमिक्रोन छिमेकी भारतसहित ४० बढि देशहरुमा फैलिसकेको छ। भारतमा एकै दिन पाँच गुणाले यो भेरियन्ट फैलिदा नेपालमा चिन्ता र चासो

जनसम्मत
मंसिर २०, २०७८, सोमबार

नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज (सोमबार) भर्चुअल प्रेस मिट गर्दै नेपालमा पनि २ जनामा नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको जानकारी दिएको हो।

ओमिक्रोन भेटिएको देशबाट मंसिर ३ गते नेपाल प्रवेश गरेका एक ६६ वर्षीय विदेशी र उनको सम्पर्कमा आएका अर्का एक जना ७१ वर्षीय व्यक्तिमा ओमिक्रोन संक्रमण भेटिएको जनाइएको छ। उनीहरूको मंसिर ७ गते परीक्षण गरिएको थियो।

उनीहरु दुबैले कोरोना भाइरसविरुद्धको पूर्ण मात्राको खोप लगाएको पीसीआर रिपोर्ट नेगेटिभसहित नेपाल प्रवेश गरेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार दुबै नजामा संक्रमणको गंभीर समस्या देखिएको छन। उनीहरुसँग सम्पर्कमा आएका सबैको कन्ट्याक्ट ट्रेसिङ गरिएको मन्त्रालयले जनाएको छ।

दक्षिण अफ्रिकामा पहिलोपटक पहिचान भएको ओमिक्रोन भेरिअन्ट अहिलेसम्म छिमेकी भारत सहित ४० भन्दा बढी देशहरूमा फैलिइसकेको छ।

दक्षिण अफ्रिकामा पहिलोपटक देखिएको ओमिक्रोन भेरियन्टको संक्रमण विश्वका विभिन्न देशमा फैलिने क्रममा छ।

भारतमा कोरोनाभाइरसको नयाँ भेरिअन्ट ओमिक्रोनको संक्रमणका मामिला एकैदिन एक्कासी पाँच गुणाले बढ्दो छ।

समाचार एजेन्सी एएनआइका अनुसार आइतवार महाराष्ट्र राज्यमा ७, राजस्थानमा ९ र दिल्लीमा १ जना ओमिक्रोन संक्रमित फेला परेका छन्। पुष्टि भएका पछिल्लो रिपोर्ट अनुसार अब भारतमा ओमिक्रोन संक्रमितको कूल संख्या ४ बाट २१ पुगेको छ।

विश्व स्वास्थ्य संगठनले यस भेरिअन्टलाई चिन्ताको विषय बताएको छ। यसले अघिल्लो डेल्टा भेरिअन्टलाई समेत पछि पार्न सक्ने बताइएको छ। यो डेल्टाभन्दापनि संक्रामक हुन सक्ने अनुमान लगाइएको छ।