हेम्जाका विश्वासराज एमफील टपर

हेम्जाका पौडेल एमफीलमा टपर त्रिविको ४७ औ दीक्षान्त समारोहमा प्रधानमन्त्रीबाट पाए स्वर्ण पदक

जनसम्मत
पौष ५, २०७८, सोमबार

पोखराका विश्वासराज पौडेल त्रिभुवन विश्वविद्यालय अन्तर्गत एमफिल तहमा सर्वोत्कृष्ट भएका छन्।

व्यवस्थापन संकायका विद्यार्थी पौडेल २०७६ सालको एमफिल तहको परिक्षामा ३.९६ जीपीए ल्याएर सर्वोत्कृष्ट भएका हुन्।

काठमाण्डौमा सोमवार सम्पन्न त्रिविको ४७ औँ दीक्षान्त समारोहमा त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ सहिद उप–प्राध्यापक हरिराज अधिकारी स्वर्ण पदकबाट पौडेल विभुषित समेत भए।

दीक्षान्त समारोहमा त्रिभुवन विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पौडेललाई सो स्वर्ण पदक प्रदान गरे। प्रधानमन्त्रीले समारोहमा पौडेलसँगै अन्य २७ जना विद्यार्थीहरुलाई विभिन्न पदक प्रदान गरे।

पोखरा महानगरपालिका वडा नम्वर २५ हेम्जा मिलनचोकस्थित साउथर स्थायी घर भएका ३४ वर्षीय पौडेल पिता स्व गोविन्द पौडेल र माता मन पौडेलका कान्छा सुपुत्र हुन्।

पोखरा–१ स्थित राष्ट्रिय उच्च माविबाट एसएलसी उत्तीर्ण पौडेलले पोखराको पोखरा कलेज अफ म्यानेजमेन्टबाट बीबीए र काठमाण्डै पुरानो बानेस्वरस्थित एपेक्स कलेजबाट एमबीए उत्तीर्ण गरेका थिए।

पौडेल हाल पोखरास्थित जनप्रिय बहुमुखी क्याम्पसमा एमबीए कार्यक्रम संयोजक छन्।

एमबीए अध्ययन सकेर पोखरा आएका पौडेल पोखराका विभिन्न कलेज हुदै विगत ४ वर्षदेखी जनाप्रियमा आबद्ध रहँदै प्राध्यापन पेशामा छन्।