ढुंगा माटोसहितको ढिस्कोले पुरिएर स्काभेटर चालक खत्रीको मृत्यु

जनसम्मत
पौष ५, २०७८, सोमबार

म्याग्दीको निर्माणाधीन हाई हिमालयन टुण्डी माथिल्ल्लो राहुघाट जलबिद्युतको आयोजनामा ढिस्को खसेर सोमबार स्काभेटर चालकको मृत्यु भएको छ।

म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाम कुमा खोल्सामा नँया बन्दै गरेको सो आयोजनामा काम गर्दै गर्दा माथिबाट ढुंगामाटो सहितको ढिस्को खस्दा स्काभेटर चालक सोही जिल्लाका रघुगंगा–२, भगवतीका २८ वर्षीय भीमबहादुर खत्रीको घटनास्थलमै मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

घटनामा खत्रीसँगै उनले चलाएको स्काभेटरलाई समेत ढुंगा माटो सहित खसेको ढिस्कोले पुरेको प्रदेश प्रहरीले जनाएको छ। घटनास्थलबाट प्रहरीले मृतक खत्रीको शब उद्दार गरेको थियो। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रदेश प्रहरीले जनाएको छ।