आज संसद बैठक बस्दै, त्यसअघि कार्यव्यवस्था समितिको बैठक

संसदबाट आजै एमसीसी पारित गर्ने अनुमान

जनसम्मत
पौष ६, २०७८, मंगलवार

प्रतिनिधिसभाको १० औँ अधिवेशनको दोस्रो बैठक आज (मंगलबार) बस्दैछ।

संसद बैठक बस्नुअघि प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ।

संसद बैठक दिउँसो १ बजेका लागि तय भएकोमा सभामुख अग्निप्रसाद सापकोटाले त्यसअघि प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।

बैठक बिहान साढे ११ बजे संसद भवन नयाँबानेश्वरस्थित शंकर हलमा बस्नेछ।

मंगलबारको बैठकमा सरकारले एमसीसी टेबुल गराउने तयारी गरेको भएपनि बैठकको सम्भावित कार्यसूचीमा एमसीसी परेको छैन।
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसद्को नवौं अधिवेशनका सबै बैठक अवरुद्ध गरेको थियो। दशौं अधिवेशनका बैठक पनि चल्न नदिने एमालेको रणनीति छ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्बन्धी सम्झौता संसदबाट पारित हुने अनुमान लगाइएको छ।
आज सुरक्षा निकायलाई चनाखो रहन निर्देशन दिइएका कारण संसदबाट एमसीसी सम्बन्धी सम्झौता पारित गर्ने संचारमाध्यमहरुले अनुमान लगाएको छ।

प्रहरी प्रधान कार्यालयले नक्साल हेडक्वार्टरमा कार्यरत सबैलाई चुस्ता (नीलो पोशाक) लगाएर बस्न आन्तरिक सूचना जारी गरेको संचारमाध्यमहरुले जनाएका छन्।