पीएम कपः एपीएफको विजय सुरूवात

जनसम्मत
पौष २६, २०७८, सोमबार

सशस्त्र प्रहरीको विभागीय टोली एपीएफले आफ्नो पहिलो खेलबाट विजयी सुरुवात गरेको छ।

ओपनर ब्याटर प्रदीप ऐरी र आशिफ शेखले १२० रनको साझेदारी गरेको खेलमा एपीएफले सफलता हात पारेको हो।

प्रतियोगिताको तेस्रो खेलमा जितका लागि १६४ रनको लक्ष्य पाएको प्रदेश २ निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रनमा समेटिएपछि एपीएफले २४ रनको जित निकालेको हो।

प्रदेश २ का लागि हरिशंकर शाहले सर्वाधिक ३६ रन बनाए। यस्तै, मोहम्मद आदिल अलामले ३५ रन बनाउन सफल भए। सुरज पटेलले १५ रनको योगदान गरे। विवेक यादवले १३ रनको योगदान दिए। अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन्।

एपीएफका कमलसिंह ऐरी, अभिनाश बोहरा र भुवन कार्कीले २÷२ विकेट लिए। किशोर महतो र शरद भेषवाकरले समान १/१ विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ गरेको एपीएफका लागि प्रदीप ऐरी र आशिफले १२० रनको साझेदारी गरेपछि एपीएफले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६३ रन बनाएको थियो। आशिफले ६३ रन र प्रदीपले ६० रन बनाए। सन्दीप जोराले १७ रनको योगदान गरे। अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन्।

प्रदेश २ का रुपेश सिंहले सर्वाधिक ४ विकेट लिए। विवेक यादवले एक विकेट लिए। जितसँगै समूह ‘बी’ मा एपीएफले आफ्नो पहिलो खेलबाट महत्वपूर्ण २ अंकको खाता खोलेको छ।