२०२१ मा विश्वभर २९३ पत्रकारलाई जेल सजाय

सबैभन्दा बढी चीनमा। सीपीजेको रिपोर्ट अनुसार चीनमा सन् २०२१ मा मात्रै ५० जना पत्रकारलाई जेल सजाय दिइएको छ। जुन विश्वभरकै सबैभन्दा बढी हो। त्यसपछि म्यानमार २६, इजिप्टमा २५, भियतनाममा २३ र बेलारुस १९ जना पत्रकारलाई जेल हालिएको छ

जनसम्मत
माघ ३, २०७८, सोमबार

सन् २०२१ मा विश्वभर पत्रकारका लागि असुरक्षित वर्षको रूपमा रह्यो।

गैरनाफामुखी संस्था कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्स (सीपीजे)को नयाँ प्रतिवेदन अनुसार यस वर्ष डिसेम्बर १ सम्म विश्वव्यापी रूपमा २९३ पत्रकारहरू जेल परेका छन्।

जसमा सबैभन्दा बढी चीनमा पत्रकारहरूलाई यातना दिइएको छ। सीपीजेको रिपोर्ट अनुसार चीनमा सन् २०२१ मा मात्रै ५० जना पत्रकारलाई जेल सजाय दिइएको छ।

सन् २०२१ मा नै कम्तीमा २४ पत्रकारहरू उनीहरूको कभरेजको कारण मारिएका छन् र अन्य १८ जनाको मृत्यु भएको प्रेस स्वतन्त्रता र मिडियामाथि आक्रमणहरूको वार्षिक सर्वेक्षणको प्रतिवेदनमा उल्लेख गरिएको छ।

पत्रकारहरूलाई जेल हाल्ने कारणहरू देश अनुसार फरक भएपनि विश्वभरको राजनीतिक उथलपुथल र स्वतन्त्र रिपोर्टिङप्रति बढ्दो असहिष्णुतालाई यसले प्रतिबिम्बित गरेको सीपीजेले जनाएको छ।

सीपीजेका कार्यकारी निर्देशक जोएल साइमनले एक विज्ञप्तिमा यो लगातार छैटौँ वर्ष विश्वभर कैद गरिएका पत्रकारहरूको रेकर्ड संख्याको दस्तावेजीकरण गरेको बताए। यो संख्याले २ अटुट चुनौतीहरू प्रतिबिम्बित गरेको उनको विश्लेषण छ। जसमा पहिलो सरकारहरू सूचना नियन्त्रण र व्यवस्थापन गर्न कटिबद्ध छन्। र, तिनीहरू त्यसो गर्ने प्रयासमा बढी निर्लज्ज पनि छन्।

समाचार रिपोर्टिङको लागि पत्रकारहरूलाई कैद गर्नु एक अधिनायकवादी शासनको विशेषता भएको साइमनले बताए।

सन् २०२१ मा मारिएका पत्रकारहरूमा जुलाईमा अफगानिस्तानमा तालिबान आक्रमणमा मारिएका रोयटर्सका फोटोग्राफर दानिश सिद्दीकी र जुनमा मेक्सिकोमा गोली हानी मारिएका गुस्ताभो सान्चेज काब्रेरा समावेश छन्।

प्रतिवेदनले हङकङ र सिनजियाङ, म्यानमारमा फेब्रुअरी कू, उत्तरी इथियोपियामा युद्ध र बेला रुसमा विपक्षीमाथिको क्र्याकडाउ लगायतका पत्रकारहरूलाई लक्षित गर्न प्रयोग गरिने कानूनहरू सहित विश्वभरका पत्रकारहरूका लागि प्रतिबन्धित वातावरण भएको उल्लेख गरेको छ।
चीनले ५० पत्रकारलाई कैद गरेको छ। जुन विश्वभरकै सबैभन्दा बढी हो। त्यसपछि म्यानमार २६, इजिप्टमा २५, भियतनाममा २३ र बेलारुस १९ जना पत्रकारलाई जेल हालिएको छ।

एजेन्सी