प्रेस काउन्सिलले २२ अनलाइनलाई सचेत गरायो

१६ युट्युबलाई कारबाही गर्न काउन्सिलको सिफारिस

जनसम्मत
फागुन २१, २०७८, शनिबार

प्रेस काउन्सिल नेपालले पछिल्लो समय एक अभिनेता र एक गायिकाका विषयमा विभिन्न संचारमाध्यम एवं सामाजिक सञ्जाल (युट्युब) बाट संप्रेषण भएका सामग्रीहरूप्रति गम्भीर ध्यानाकषर्ण भएको जनाएको छ।

काउन्सिलले आचारसंहिताप्रतिकूल सामग्री सम्प्रेषण गर्ने २२ अनलाइन मिडियालाई सचेत गराएको छ। दर्ता र सूचीकरण नभएका १० वेबपोर्टलहरूलाई नेपालभित्र संप्रेषण हुन नसक्ने व्यवस्थाका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार समेत गरेको छ।

नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार गरेको काउन्सिलले शुक्रबार प्रकाशित एक विज्ञप्ति मार्फत जनाएको छ। काउन्सिलले कुनै मिडियाअन्तर्गत आवद्ध नभएका १६ युट्युब च्यानललाई अनुसन्धान गरी आवश्यक कारबाही गर्न नेपाल प्रहरी साइबर ब्युरोमा सिफारिस समेत गरेको छ।

अनुगमनका क्रममा विभिन्न संचार माध्यम, वेबपोर्टल र सामाजिक सञ्जाल (खासगरी युट्युब) समेतबाट वैयक्तिक गोपनीयताको प्रतिकूल हुने, पीडितलाई थप पीडा पुग्ने, पीडितलाई नकारात्मक असर पर्ने र पीडितको पहिचान खुल्ने गरि नाम, तस्बिर, भिडियो सामग्री संप्रेषण गर्ने, न्यायिक निकायमा विचाराधीन मुद्दाको स्वच्छ सुनुवाइ प्रक्रियामा प्रभाव पर्ने किसिमबाट आरोपी र जाहेरीवालाको पक्ष–विपक्षमा सामग्री संप्रेषण भइरहेका तथ्यहरू फेला परेको विज्ञप्तिमा उल्लेख छ।

विभिन्न सञ्चार माध्यमबाट संप्रेषित सामग्री अध्ययन गर्दा सार्वजनिक अपराधसँग जोडिएका व्यक्ति तथा पीडितहरूको पक्ष÷विपक्ष हुने गरी सामग्री संप्रेषण हुँदा पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) को दफा ५(११), ५(४) र ४(९) को ठाडो उल्लंघन भएको वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

‘अदालतमा विचाराधीन रहेका यस्ता मुद्दाको न्यायिक छानबिनलाई प्रभाव पर्ने किसिमबाट सामग्री संप्रेषण नगर्न÷नगराउन काउन्सिलले संचार माध्यम, संपूर्ण पत्रकार, संचारकर्मी, सामाजिक सञ्जाल र यसका प्रयोगकर्तालाई अपिलसमेत गरेका छौँ’–काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले भने।

यसैबीच, अनलाइन टिभी, सामाजिक सञ्जाल (विशेषगरी युट्युुब च्यानल)हरूमा संपे्रषित सामग्रीबारे प्रेस काउन्सिल नेपालमा उजुरी र गुनासाहरू बढिरहेका सन्दर्भमा यसको नियमन र व्यवस्थापनका निमित्त सुझाव दिनका लागि एक कार्यदल गठन भइ कार्य भइरहेको विज्ञप्तिमार्फत् जनाइएको छ।

(काउन्सिलको वेवसाइट प्रेस काउन्सिल नेपाल डट गोभ डट एनपीमा समाचार छ)