गण्डकी प्रदेशभित्र साताका उत्कृष्ठ ७ तस्बीरहरु (फिचरसहित)

जनसम्मत
फागुन २९, २०७८, आइतबार

दमौलीमा आगलागी

तनहुँको व्यास नगरपालिका–४ दमौलीस्थित मुख्य चोकको भूपाल हार्डवेयरको गोदाममा गत अघिल्लो हप्ताको आइतबार आगो लाग्दा निस्केको धुवाँको मुस्लो। आगलागी भएको ४ घण्टापछि मात्र आगो नियन्त्रणमा आएको थियो। भूपाल हार्डवेयरको गोदामबाट सुरु भएको आगो ४ घण्टाको प्रयासपछि नियन्त्रणमा आएको थियो। भूपाल हार्डवेयर, ज्योति सप्लायर्स र केही स्थानीयका घरमा पनि आगोले क्षति पुगेको थियो। आगो निभाउन तनहुँको व्यास नगरपालिका, पोखराका २ वटा र लमजुङबाट समेत दमकल बोलाइएको थियो।

 

तस्बीर सौजन्य : किरण श्रेष्ठ/उद्घोष न्यूज

 

आगलागीमा हेलीकोप्टर प्रयोग

तनहुँको व्यास नगरपालिका–४ दमौलीस्थित मुख्य चोकको भूपाल हार्डवेयरको गोदाममा गत अघिल्लो हप्ताको आइतबार आगो लाग्दा आगो निभाउन सिम्रिक एयरको हेलिकप्टरको प्रयोग। राजनैतिक दलसँग आवद्ध व्यक्तिहरु, व्यास नगरवासी, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, व्यास नपा र पोखरा महानगरपालिका दमकल प्राविधिक सहितको वारुणयन्त्र तथा काठमाण्डौवाट आएको हेलिकप्टरको सहयोगले भीषण आगलागी ४ घण्टापछि नियन्त्रणमा आएको थियो।

तस्बीर सौजन्य : किरण श्रेष्ठ/उद्घोष न्यूज

 

असल बुहारीहरुलाई सम्मान

यस वर्षको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा तनहुँको म्याग्दे गाउँपालिकाभित्रका असल बुहारीलाई दोसल्ला ओढाएर प्रशंसापत्र र करुवा प्रदान गरेर सयुक्त रुपमा सम्मान गर्दै गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. रघुराज काफ्ले र म्याग्दे गाउँपालिकाकी अध्यक्ष मायादेवी राना। गाउँपालिकाको वडा नं ७ की उमा सेन, नन्दुमाया थापा र वडा नं ४ की चन्द्रकुमारी कुमाललाई असल बुहारीको रुपमा गाउँपालिकाले सम्मान गरेको हो। वृद्ध अवस्थामा पुगेका सासू र ससुरालाई राम्रोसँग हेरचाह गरेको मूल्यांनका आधारमा असल बुहारीको छनोट गरी सम्मान गरेको हो। सासु र ससुराको स्याहरसहित सम्मान र माया गर्नेको खोजी गरी ‘असल बुहारी सम्मान कार्यक्रम’ अन्तर्गत सो सम्मान गरेको हो।

तस्बीर सौजन्यः अमरराज नहर्की/गोरखापत्र

 

हाफ म्याराथनकी अब्बल कान्छीमाया

व्यास खुल्ला महिला हाफ अल्ट्रा म्याराथनकी विजेता कान्छीमाया कोजूले दौड पूरा गर्दै। ११२ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा मंगलबार व्यास नगरपालिकाद्वारा आयोजित दोस्रो महिला हाफ म्याराथन कान्छीमाया कोजूले जितिन्। व्यास–३ व्यासगुफादेखि व्यास–११ तनहुँसुरसम्मको २१ किलोमिटर दूरी १ घण्टा ५५ मिनेट १२ सेकेन्डमा पार गर्दै कोजुले पहिलो स्थान हासिल गरिन्। कोजुले ४१ हजार ७८ रुपैयाँ पुरस्कार प्राप्त गरिन् । सशस्त्र प्रहरी बल (एपिएफ) की नेपालकी कीर्तिमानी धाविका उनी राष्ट्रियस्तरका दौड प्रतियोगितामा सहभागी हुँदै आएकी छन्।

तस्बीर सौजन्यः एजेन्सी

 

वेदबहादुरले जिते व्यास अल्ट्रा म्याराथन

पाँचौँ संस्करणको व्यास अल्ट्रा म्याराथनको पहिलो बन्दै आर्मीका वेदबहादुर सुनुवार। तनहुँको व्यास नगरपालिकाले शनिबार आयोजना गरेको व्यास अल्ट्रा म्याराथन उपाधि वेदबहादुरले जितेका हुन्। निर्धारित दुरी २ घण्टा ५८ मिनेट ७ सेकेन्डमा पार गर्दै सुनुवारले उपाधि जितेका हुन्। उनले उपाधिसँगै नगद ८५ हजार ७८ रुपैयाँ प्राप्त गरे। सुनुवारले गत संस्करणमा तेस्रो स्थान हासिल गरेका थिए। गत वर्षको रेकर्डमा सुनवारले ३ घण्टा १० मिनेट ५ सेकेन्डमा दुरी पार गर्दै गत बर्ष तेस्रो स्थान हासिल गरेका थिए। व्यास नगरपालिका–५ मानहुँकोटबाट सुरु भएको म्याराथन दमौली, कलेस्ती, वगुवा, रिस्ती हुँदै व्यास नगरपालिका–८ पुलिमराङ सहिद गाउँमा पुगेर टुंगिएको हो। ४४ किलोमिटर दुरीमा धावकहरू धौडिएका हुन्।

तस्बीर सौजन्यः एजेन्सी

 

पञ्चे बाजाको तालमा नारी दिवस

पञ्चे बाजाको तालमा गाउँदै, नाच्दै, रमाउँदै म्याग्दीका महिला कर्मचारीहरु। ११२ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा महिलाहरुले मात्रै बजाएको पञ्चेबाजामा राजनीतिक दल, सामाजिक संघसंस्थाका प्रतिनिधि र सरकारी तथा गैरसरकारी कार्यालय लगायतका कर्मचारीहरुले म्याग्दी बजार परिक्रमा गरेका थिए।

तस्बीर सौजन्यः एजेन्सी

 

पञ्चेबाजा बजाउँदै महिलाहरु

११२ औं दिवसमा पञ्चेबाजा बजाउँदै म्याग्दीका महिलाहरु।

तस्बीर सौजन्यः एजेन्सी