काँग्रेसद्धारा न्यायिक समितिको राष्ट्रिय सम्मेलन बहिष्कार

जनसम्मत
चैत्र १४, २०७८, सोमबार

काँग्रेसले पोखरामा सुरु न्यायिक समितिको राष्ट्रिय सम्मेलन बहिष्कार गरेको छ।

देशभरका स्थानीय तहका न्यायिक समिति संयोजकहरुको सहभागिता रहेको सम्मेलनको काँग्रेसले बहिष्कार गरेको हो। b

देशभरबाट नगरपालिका तथा गाउँपालिका उपप्रमुखहरुको सहभागिता भइरहँदा कांग्रेसले भने बहिष्कार गरेको हो।

सम्मेलनका लागि एमाले पक्षका उपमेयर र उपाध्यक्ष मात्र भेला भएको काँग्रेसले जनाएको छ।

काँग्रेसका अनुसार सम्मेलनमा गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ र मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल बाहेक काँग्रेसको कसैको पनि सहभागिता छैन।

पोखरा महानगरपालिका वडा ९ का वडा अध्यक्ष तथा प्रमुख दल सचेतक समेत रहेका रामराज लामिछानेले एमालेको चुनावी एजेण्डा र राजनीति स्वार्थपुर्तिका लागि मात्रै सम्मेलनको आयोजना गरेको आरोप लगाएका छन्।

उनले न्यायिक समितिले कांग्रेसलाई नडाकेको र समितिमा समेत काँग्रेसलाई सहभागिता नगराएको बताए। उनले भने, ‘समितिको सम्मेलनको तयारीका लागि विभिन्न उपसमितिहरु गठन गरिएको थियो। त्यसमा काँग्रेसबाट महानगरका वडाहरुमा प्रतिनिधित्व गर्ने काँग्रेसलाई पनि समेटिएको थियो। तर, पछि तयारीबारे बैठकहरुमा कसैलाई बोलाइएको छैन। एमालेबाहेक विपक्षी प्रतिनिधिहरुलाई बैठकहरुमा वेवास्ता गरिएको छ।’

लामिछानेले सम्मेलनको तयारीका लागि बनाइको कार्यपत्र प्रस्तुत समितिमा आफूलाई राखेको र पछि बेवास्ता गरेको आरोप लगाए।

सम्मेलनमा २ सय भन्दा बढी न्यायिक समितका संयोजक तथा सदस्यहरुको सहभागिता रहेको छ।

सम्मेलनमा पोखराको त्रिवर्षिय योजनाको पुस्तिका समेत सार्वजानिक गरेको छ।