१ लाख ३६ हजार २६९ को उम्मेदवारी

स्थानीय तह निर्वाचन २०७९

जनसम्मत
वैशाख १३, २०७९, मंगलवार

स्थानीय तह निर्वाचनका लागि देशभरका ७५३ वटा पालिकामा गरी १ लाख ३६ हजार २६९ उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।

निर्वाचन आयोगले मंगलवार बिहान सार्वजनिक गरेको विवरण अनुसार आइतबार र सोमबार गरी यो संख्यामा उम्मेदवारी दर्ता भएको हो।

यो राजनीतिक दल र स्वतन्त्र उम्मेदवारको संख्या हो। स्थानीय तहमा ३० वैशाखमा ३५ हजार २ सय २१ जनप्रतिनिधिका लागि चुनाव हुँदैछ। २०७४ को स्थानीय तहको चुनावमा १ लाख ५१ हजार १ सय ९० जनाले उम्मेदवारी दिएका थिए।

कुन पदमा कति उम्मेदवार ?

मेयरः ३ हजार २६१
अध्यक्षः ३ हजार २५४
उपमेयरः २ हजार ३
उपाध्यक्षः २ हजार २९२
वडाध्यक्षः ३२ हजार ५९
महिला सदस्यः २३ हजार ३ सय ७५
दलित महिला सदस्यः २१ हजार ११५
सदस्यः ४८ हजार ९१०

आज (मंगलबार) उम्मेदवारको विरोधमा उजुरी दिन आयोगले समय तोकेको छ, र १४ र १५ वैशाखमा मनोनयन पत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गरी उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका तय छ।

१६ वैशाखमा उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा १७ वैशाखमा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने आयोगको कार्यतालिका छ।