३५ सञ्चार माध्यम प्रेस काउन्सिलको कारवाहीमा

जनसम्मत
वैशाख १५, २०७९, बिहीवार

३५ सञ्चार माध्यम प्रेस काउन्सिल नेपालको कारबाहीमा परेका छन्।

प्रेस काउन्सिलको आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने ३५ सञ्चार माध्यमलाई कारवाही गरेको हो। साथै काउन्सिलले दर्ता नभएका ४ वेबपोर्टललाई मुलुकभित्र सम्प्रेषण हुन नसक्ने बनाएको छ।

सञ्चार माध्यमबाट निर्वाचन आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण भएको देखिएमा तत्कालै कारबाही प्रक्रिया अगाडि बढाइ सोको जानकारी निर्वाचन आयोगलाई गराइँदै आएको उपप्रशासकीय अधिकृत (सूचना अधिकारी) रामशरण बोहराद्वारा बुधवार जारी विज्ञप्तिमा भनिएको छ।

निर्वाचन आचारसंहिता लागु भएपश्चात् काउन्सिलले देशभरका सञ्चार माध्यमहरूबाट आचारसंहिता पालना भए/नभएको विषयमा विशेष अनुगमन गरिरहेको छ।

२०७८ चैत २६ गतेदेखि हालसम्म आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने ३५ सञ्चार माध्यममध्ये ४ वटालाई २४ घण्टे स्पष्टीकरण माग गरिएकोमा २ सञ्चार माध्यमबाट पेस भएको स्पष्टीकरण चित्त बुझ्दो नदेखिएकोले प्रथम पृष्ठमा क्षमायाचना प्रकाशन गर्न निर्देशन दिइएकोमा सोही अनुसार प्रकाशन भएको छ। २ वटाले आगामी दिनमा आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण नगर्ने र सजग रहने प्रतिबद्धता जनाएका छन्।

यसैगरी ६ पत्रपत्रिका, ३ रेडियो, ५ टेलिभिजन र १४ अनलाइन गरी २८ वटालाई निर्देशन दिइएको र २ अनलाइनबाट निर्देशनपश्चात पनि प्रतिकूल सामाग्री पुनः सम्प्रेषण भएको देखिएकोले सचेत गराइएको छ। त्यस्तै ४ वटा सञ्चार माध्यमलाई ध्यानाकर्षण गराइएको छ।

दल तथा उम्मेदवारका बारेमा सूचना तथा समाचार सम्प्रेषण गर्दा विशेष ध्यान पुर्याउनु सञ्चार माध्यमको कर्तव्य भएकाले गलत समाचार, दुष्प्रचार र घृणास्पद अभिव्यक्तिहरू सम्प्रेषण हुन नदिन, कसैको पक्ष वा विपक्ष हुनेगरी र राजनीतिक दल वा उम्मेदवारको प्रतिष्ठामा आँच पुग्नेगरी सामग्री सम्प्रेषण हुन नदिनेतर्फ सजग रहन विज्ञप्तिमा भनिएको छ ।