इक्वेडोरमा आपतकाल घोषणा

४ हजार प्रहरी र ५ हजार सैनिक परिचालन

जनसम्मत
वैशाख १७, २०७९, शनिबार

इक्वेडरमा आपतकाल घोषणा गरिएको छ।

आपराधिक ग्याङको हिंसा बढ्दै जाँदा ल्याटिन अमेरिकी मुलुक इक्वेडोरमा आपतकालको घोषणा गरिएको हो।

ग्याको हिंसा बढ्दै जाँदा इक्वेडोरको पश्चिममा रहेका तीन प्रान्तहरुमा आपतकाल घोषणा गरिएको बीबीसीले जनाएको छ।

राष्ट्रपति गुलेर्मो लासोले आपतकालको घोषणा गर्दै इक्वेडोरको पश्चिममा रहेका ३ प्रान्तहरु गुयास, मनाबी र एज्मेराल्दासमा कर्फ्यू लागू गरिने र यसका लागि हजारौं सैनिक एवं प्रहरीलाई त्यसतर्फ पठाइने बताएका छन्।

सो क्षेत्रमा ४ हजार प्रहरी र ५ हजार सैनिक परिचालन गरिने बताइएको छ। गत वर्ष राष्ट्रपति बनेयता गुलेर्मो लासोले हिंसा रोक्न आपतकालीन शक्तिको प्रयोग गरेको यो दोश्रो पटक हो। बीबीसीका अनुसार आपतकाल घोषणा गरिएका क्षेत्रमा राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू लागू गरिनेछ।

पछिल्ला केही समययता इक्वेडोरमा आपराधिक ग्याङको हिंसामा उच्च वृद्धि भएको बीबीसीले जनाएको छ। राष्ट्रपति लासोले लागूऔषध तस्करका कारण आफ्नो मुलुकमा हिंसा बढेको बताएका छन्।

छिमेकी मुलुकहरु कोलम्बिया र पेरुबाट अन्यत्र लागूऔषध तस्करी गर्न तस्करहरुले इक्वेडोरलाई ट्रान्जिट हबको रुपमा प्रयोग गर्दै आएको बताइन्छ।

यसबाहेक मेक्सिकोका कुख्यात लागूऔषध तस्करहरुको पनि त्यहाँका स्थानीय ग्याङ्गसँग साँठगाँठ रहेको बताइएको छ।