मौन अविधि, आज राति १२ बजेबाट सुरु

मौन अवधिमा के गर्न पाइन्छ ? के गर्न पाइँदैन ?? हेर्नुहोस, मौन अवधिमा पालना गर्नुपर्ने आचरणहरु

जनसम्मत
वैशाख २७, २०७९, मंगलवार

स्थानीय निर्वाचनका लागि उम्मेदवारले प्रचारप्रसार गर्ने अन्तिम दिन। वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि मंगलबार राति १२ बजे मौन अवधि सुरु हुनेछ ।

मौन अवधि सुरु हुनै लाग्दा निर्वाचन आयोगले सामाजिक सञ्जालबाट निर्वाचन आचारसंहिता विपरीतका पोस्ट हटाउन र नयाँ पोस्ट नगर्न निर्देशन दिएको छ।

निर्वाचन आयोगले मौन अवधिको पूर्ण पालना गर्न आग्रह गरेको छ। मौन अवधिमा रानीतिक दल, नेता, उमेदवार, कार्यकर्ता तथा भातृ संगठनले के गर्न हुने र के गर्न नहुने जानकारी दिँदै आयोगले यसको प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ।

मौन अवधिभर निर्वाचन प्रचार–प्रसार कुनै नशालु पदार्थ वा मादक पदार्थ सेवन, राजनीतिक दल तथा उमेदवारको पक्ष/विपक्षमा मतदानलगायत कुनैपनि प्रकारका छलफल गर्न नपाइने आयोगले जनाएको छ। सामाजिक सञ्जालबाट कसैको प्रचार गर्न र भ्रामक सूचना प्रवाह गर्न नपाइने आयोगले जनाएको छ।

निर्वाचन आचारसंहिता पालन भए/नभएको अनुगमनका लागि अनुगमन टोली पनि आयोगले परिचालन गरेको छ। उक्त टोलीले उल्लंघकर्ता जो सुकै भएपनि कारबाही गर्नसक्नेछ। आयोगले मुख्यमन्त्रीदेखि मेयरका उमेदवारसम्मलाई स्पष्टिकरण सोधिसकेको छ।

यसैबीच, आयोगले आजदेखि मतदान कार्य सम्पन्न नभएसम्म मादक पदार्थको बिक्री, वितरण र सेवन नगर्न आग्रह गरेको छ। तोकिएको अवधि र ठाउँमा मादक पदार्थको बिक्री वितरण र सेवन कार्य गर्न निषेध गरिएको छ ।