तारा एअरको ट्वीनअटर विमान दुर्घटनाका कारण : खराब मौसम

विमानमा सवार १९ यात्रु र ३ चालक दलका सदस्यसहित २२ जनाको दुःखद् निधन भएको छ

जनसम्मत
जेठ १६, २०७९, सोमबार

प्रतिकूल मौसमका कारण तारा एअरको ट्वीनअटर विमान दुर्घटनाग्रस्त भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

संसद्को अन्तर्राष्ट्रिय समितिको सोमबारको बैठकमा दुर्घनाग्रस्त जहाजकाबारेमा समितिलाई जानकारी गराउँदै महानिर्देशक अधिकारीले खराब मौसमका कारण ‘राईट टर्न’ गर्नुपर्ने जहाजले ‘लेफ्ट टर्न’ गरेर गएर भित्तामा ठोकिएको प्रारम्भिक अध्ययनले देखाएको बताए।

घटनास्थल जोमसोम विमानस्थलबाट ८ नटिकल माइल दूरीमा पर्छ। उक्त विमान मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित सानुसरे भन्ने भिरमा ठोक्किँएर दुर्घटना भएको अवस्थामा सोमबार बिहान भेटिएको थियो। विमानमा सवार १९ यात्रु र ३ चालक दलका सदस्यसहित २२ जनाको दुःखद् निधन भएको छ।

पोखराबाट आइतबार बिहान ९ः५५ बजे जोमसोमका लागि उडेको उक्त विमान उडेको १०ः७ बजेपछि सम्पर्कविहीन भएको थियो। ५ वटा हेलिकोप्टरले आइतबार दिनभर खोजी गर्दा पनि फेला नपरेपछि बिहानै परिचालन भएको संयत्रबाट दुर्घटनाग्रस्त जहाज भेटिएको थियो।