त्रियुगा नगरपालिका प्रमुखमा काँग्रेस, उपप्रमुखमा एमाले विजयी

जनसम्मत
जेठ १६, २०७९, सोमबार

उदयपुरको त्रियुगा नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेस र उपप्रमुखमा नेकपा एमाले विजयी बनेको छ।

मतगणनाको सोमवार प्राप्त भएको परिणामअनुसार प्रमुखमा काँग्रेसका वसन्तकुमार बस्नेत विजयी बनेका छन्। उनले १३ हजार ९५९ मत प्राप्त गर्दै विजय हात पारेका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका भागवत राउतले ११ हजार ८३८ मत प्राप्त गरे।

उपप्रमुखमा एमालेकी महेश्वरी राईले १३ हजार ७०३ मत प्राप्त गर्दै विजय हासिल गरिन्। उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी सरिता राईले ११ हजार ९१८ मत र माओवादी केन्द्रकी गीता खड्काले ६ हजार ५६८ मत प्राप्त गरिन्।

नगरको १६ वडामध्ये काँग्रेस वडा नम्बर १, ३, ४, ५, ८, ९, ११, १२ र १३ मा प्यानलसहित विजयी बन्यो। एमालेले वडा नम्बर २, ६, ७ र १० वडामा विजय हासिल गरेको छ। माओवादी केन्द्रले वडा नम्बर १४, १५ र १६ मा विजय हासिल गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

काँग्रेस त्रियुगा नगरपालिकामा गठबन्धन विना एक्लै चुनाव लडेको थियो। उदयपुरका ८ पालिकामध्ये काँग्रेसले त्रियुगा, कटारी र बेलका नगरपालिकामा प्रमुख पदमा विजय हासिल गरेको छ। एमालेले चौदण्डीगढी नगरपालिकामा मात्र प्रमुख र उपप्रमुख जितेको छ। कटारी, त्रियुगा र बेलका नगरपालिकामा उपप्रमुखमा विजय हासिल गरेको छ।

माओवादी केन्द्रले लिम्चुङबुङ गाउँपालिका, रौतामाई गाउँपालिका र ताप्ली गाउँपालिकामा अध्यक्षमा विजयी बनेको थियो। सो गाउँपालिकाको उपाध्यक्षमा काँग्रेस विजयी बनेको थियो।

उदयपुरगढी गाउँपालिकामा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीको अध्यक्षमा र उपाध्यक्षमा काँग्रेस विजयी बनेको छ।