नागरिकका गुनासा, सल्लाह, सुझाव तथा समस्या सुन्न ह्वाट्सएप नम्बर

जनसम्मत
जेठ १६, २०७९, सोमबार

धनगढीका मेयर गोपाल हमालले नगरवासीका गुनासा, सल्लाह, सुझाव तथा समस्या सम्बोधनका लागि ह्वाट्सएप नम्बर सार्वजनिक गरेका छन्।

उनले उपमहानगरपालिकामा सोमवार पत्रकार सम्मेलन गरेर आफ्नो ह्वाट्सएप नम्बर सार्वजनिक गरेका हुन्।

सार्वजनिक सरोकारका सवालमा नगरवासीका गुनासा, पिरमार्का सुन्न, सल्लाह सुझाव लिन मेयर हमालले ९८५८४८८८९५ नम्बर सार्वजनिक गरेका छन्। यो नम्बर मेयर हमालसँगै हुनेछ। हमालले विकास निर्माणको काममा कहीँ कमसल सामग्री प्रयोग, गलत काम, कर्मचारीबाट ढिलासुस्ती वा नागरिकलाई दुःख दिने काम भए कल गर्न नगरबासीलाई आग्रह गरेका छन्।

भ्रष्टाचार अन्त्य गरी सुशासन कायम र लोककल्याणकारी नगरको निर्माणमा आफू लागेको बताउँदै उनले व्यक्तिगत कामका लागि भने सो नम्बरमा फोन नगर्नसमेत अनुरोध गरे। कतै कुनै बदमासी भएको भए सो नम्बरमा फोन गर्न आग्रह गर्दै उनले गलत भेटिए तुरुन्तै कारबाही हुने चेतावनी समेत दिए।

उपमहानगरका हरेक सूचना एकैदिन उपलब्ध गराउन कर्मचारीलाई निर्देशन दिइएको हमालले बताए। अब संचारकर्मीले सूचनाका लागि निवेदन दिएर १५ दिनसम्म कुर्नु नपर्ने हमालको भनाई थियो।