जहाज दुर्घटनाबाट होटल संघ पोखराद्वारा दुःख व्यक्त

जनसम्मत
जेठ १७, २०७९, मंगलवार

पोखरा–जोमसोम उडानको क्रममा यही जेठ १५ गते भएको तारा एयरको जहाज दुर्घटनाप्रति होटल संघ पोखरा, नेपालले दुःख व्यक्त गरेको छ।

संघका अध्यक्ष लक्ष्मण सुवेदीले मंगलबार एक शोक विज्ञप्ति जारी गरी दुर्घटनाको क्रममा यात्रु र चालक दलका सदस्य सहित ज्यान गुमाएका २२ जनाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकशन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रटक गरेका छन्।

तारा एयरको नाइनएन–एईटी कल साइन भएको ट्वीनअटर विमान पोखरा विमानस्थलबाट बिहान ९.५५ वजे उडान भरेको १२ मिनट पछि मुस्ताङको थासाङ गाउँपालिका– २ मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त हुँदा विमानमा सवार सबैको घटनास्थलमा नै निधन भएको नेपाल नागरिक उड्डयन प्राधिकरण खोज तथा उद्धार समन्वय केन्द्रले जनाएको छ।

संघको विज्ञप्तिमा भनिएको छ– यसप्रकारको हवाई दुर्घटनाले नेपालको हवाई सेवाको विश्वसनीयता माथि प्रश्न उठ्न सक्ने मात्र नभई पर्यटकीय गतिविधिमा समेत नकारात्मक असर पर्न सक्छ। अतः जहाजको प्राविधिक तथा मौसमको अवस्थाबारे विशेष ख्याल गर्दै हवाई सेवालाई सुरक्षित र भरर्दो बनाउनेतर्फ सम्बन्धित सबैको ध्यानाकर्षण गराउन चाहान्छौं।