फुटबल फाइनलिस्सिमाः इटाली र अर्जेन्टिना भिड्दै

जनसम्मत
जेठ १८, २०७९, बुधबार

दुई महादेशको विजेता इटाली र अर्जेन्टिनाबीच आज (बुधबार) राति खेल हुँदैछ।

लण्डनको वेम्बली स्टेडियममा युरोकप विजेता इटाली र कोपा अमेरिका विजेता अर्जेन्टिनाबीचको खेल नेपाली समय अनुसार राति १२ः३० बजे सुरु हुनेछ।

इटालीले इङ्ल्यान्डलाई पेनाल्टीमा ३–२ गोलले हराएर युरो २०२० जितेको थियो। त्यस्तै, अर्जेन्टिनाले ब्राजिललाई १–० ले हराएर कोपा अमेरिका जितेको थियो।

यस प्रतिस्पर्धालाई ‘फाइनलसीमा’ भनिएको छ। यो तेस्रो संस्करण रहेको छ।

डिफेन्डर जर्जियो चिलिनीको कप्तानीमा इटाली र लियोनल मेस्सीको कप्तानीमा अर्जेन्टिना मैदानमा उत्रनेछन्। चिलिनीको यो अन्तिम अन्तराष्ट्रिय खेल हुनेछ। उनले यस खेलबाट सन्यास लिँदैछन्।

यसै वर्ष कतारमा आयोजना हुने फिफा विश्वकपमा इटालीले स्थान बनाउन सकेन। अर्जेन्टिनाले भने समूह चरणका केही खेल बाँकी रहँदै स्थान बनाएको थियो।