वाई. यु. के. सुपरमार्केट संचालनमा आउँदै

जनसम्मत
जेठ २०, २०७९, शुक्रबार

पोखराको सेदीबगरमा वाई.यु.के. सुपरमार्केट संचालनमा आउँदैछ। पोखराकै पर्यटकीय गन्तव्य लेकसाइडबाट पामे, खपौदीं जाने बाटोमा सराङकोट जाने केबुलकार स्टेशनको नजिकै सुपरमार्केट संचालनमा आउन लागेको हो।

करिब १७ रोपनी जग्गामा बनेको सुपरमार्केटको अगाडी, पछाडी पार्किङसहितको संरचनाहरु बनेका छन्। सुपरमार्केट बाहेक सो क्षेत्रमा सेमिनार तथा गोष्ठीको सभाहल, स्वीमिग पुल, थ्री डी आर्टयुक्त म्युजियम, होटल तथा रेस्टुरेन्टको संरचना बन्दैछन्।

युवा व्यवसायी युवराज खतिवडाले सुपरमार्केट संचालनमा ल्याएका हुन्। खतिवडाले आफ्नो नाम युवराज, छोरीको नाम युनिषा, छोराको नाम युनिक र आफ्नै थर खतिवडाको संक्षिप्त रुप दिएर सुपरमार्केटको नाम पनि वाई.यु.के. राखेका हुन्।

विभिन्न व्यवसाय गर्नेहरुका लागि लक्षित गरेर बहु उद्देश्यीय व्यापारिक भवन निर्माण गरेको संचालक खतिवडाले बताए।

खतिवडाका अनुसार सुपरमार्केटभित्र एउटै प्रकृतिको व्यापार, व्यवसाय नभएर विविध किसिमको व्यापार, व्यवसायहरु हुनेछन्।

‘एउटै मात्र प्रकृतिका व्यवसाय गर्न संरचनाहरु बनेका छन्, ईच्छुकका लागि बुकिङ खुल्ला गरिएको छ,’ खतिवडाले भने, ‘४ सय व्यवसायीहरु यो सुपरमार्केटभित्र अँट्न सक्नेछन्।’

सुपरमार्केटको पछाडीको भागमा थ्री डीयुक्त आर्ट म्युजियम, होटल रेस्टुरेन्ट र चिल्डे«न पार्कका संरचनाहरु बन्दैछन्। जहाँ पुग्ने व्यक्तिहरुले फेवातालमा डुंगा सयरदेखि हिमाल आरोहणसम्मका अनुभूती सहितको मनोरञ्जन लिन सक्ने संचालक खतिवडाले बताए।

तरकारी, फलफूल, माछा मासुजन्य दैनिक उपभोग्य वस्तुदेखि लिएर स्टेशनरी, मेडिकल, इलेक्टोनिक्स, फेन्सी, व्युटि एण्ड हेण्डसम पार्लर, होटल, रेस्टुरेन्ट संचालन गर्न चाहने ईच्छुक व्यक्तिका लागि बुकिङ खुल्ला गरिएको छ।

त्यस्तै, बैंक, फाइनान्स र सहकारी कार्यालयका लागि सटर र फ्ल्याटहरुको निर्माण गरिएकाले सो प्रयोजनका लागि पनि ईच्छुक व्यक्तिले सटर तथा फ्ल्याट बुकिङ गर्न सक्नेछन्।

सुपरमार्केटका लागि छट्टाछुट्टै ३ वटा ब्लकहरु बनेका छन्। विभिन्न व्यापार, व्यवासयका लागि ति ब्लकहरुमा सटरहरुको निर्माण कार्य समेत पूरा भइसकेका छन्।

करीब ८ रोपनी ११ आना जग्गामा सुपरमार्केटका लागि ३ वटा ब्लकहरु बनेका छन्। ९ रोपनी क्षेत्रफलको जग्गामा पार्किङ क्षेत्र बनेको छ।

दुई तल्लासहितको पहिलो ब्लकलाई माछा, मासु, तरकारी, फलफूल र दैनिक उपभोग्य वस्तु विक्रिका लागि सटरहरु छुट्याइएका छन्। पहिलो ब्लकको माथिल्लो तल्लामा पुल हाउस र रेस्टुरेन्ट संचालनमा आइसकेको छ।

दोस्रो ब्लकको भवनलाई मेडिकल, इलेक्टो«निक्स, डिपार्टमेन्टल स्टोर, ब्युटी एण्ड हेण्डसम पार्लरका लागि छुट्याइएको छ। मेडिकल र स्टेशनरीका लागि बुकिङ भइसकेका छन्।

दोस्रो ब्लकको माथिल्लो तल्लामा दोहरी साँझ, नाइट क्लब, सेमिनार, गोष्ठी तथा बिहे, ब्रतबन्ध भोजका लागि पार्टी प्यालेसका लागि संरचना छुट्याइएका छन्।

तेस्रो ब्लकको माथिल्लो तल्लामा थकाली भान्छा घर तथा होटल रेस्टुरेन्ट लगायत खानाका परिकारका व्यापार व्यवसाय तथा २ सय जनासम्म अँट्ने मिनि सभाहलका लागि संरचनाहरु बन्दैछन्। यस तेस्रो ब्लकमा आर्चरी लगायतका खेलकुद र बैंक, फाइनान्स, सहकारी कार्यालयका लागि संरचनाहरु बन्दैछन्।