बालमैत्री नगर बन्दै बागलुङ नगरपालिका

जनसम्मत
जेठ २१, २०७९, शनिबार

बागलुङ नगरपालिका बालमैत्री नगर बन्दैछ।

बागलुङलाई बालमैत्री नगर बनाउने अभियान शुरु भएको हो।

नगरपालिकाका १ सय ३ वटै बिद्यालयलाई बालमैत्री बनाउने अभियान चलेको हो । नगरपालिकाको निर्वाचनपछि नगरप्रमुख बसन्तकुमार श्रेष्ठले बालमैत्री नगर बनाउने पहिलो निर्णय गरेका हुन्। निर्णयपछि नगरपालिकाभरका प्रअहरुको बैठक तथा अन्तरक्रियामा सोही प्रकृतिका काम गर्न श्रेष्ठले निर्देशन समेत दिएका छन्।

नगरपालिकाले बिद्यालय क्षेत्र सुधारकालागि प्रधानाध्यापकहरुसँग कार्यसम्पादन करार सम्झौता समेत गरेको छ। सम्झौताका २४ बुँदामा शिक्षकको पेशागत प्रगतीसहित बिद्यार्थीको शैक्षिक गुणस्तर बढाउने कार्यक्रमहरु समावेश छन्। बिद्यालयको बार्षिक कार्ययोजना निर्माण गरी व्यवस्थापन समितिबाट पारित गर्ने, सबै काम र निर्णय अद्यावधिक गर्ने, भर्नादर शतप्रतिशत पु¥याउने, सिकाई उपलब्धी उच्चतम बनाउने लगायतका सूचक करारमा उल्लेख छन्।

त्यस्तै, छात्रवृत्ति प्रदान, समुदायसँगको सम्बन्ध सुधार, हरेक महिना शिक्षक, कर्मचारी, व्यवस्थापन समिति र श्रोतव्यक्तिको बैठक गर्ने, स्वीकृत पाठ्यक्रम लागू गर्ने, अभिलेखीकरणलाई चुस्त बनाउने र बिद्यालयको लेखा परीक्षण तोकिएको परीक्षकबाट गर्ने र चुस्त स्रेस्ता राख्ने सहमति भएका छन्।

आइतबार नेपाल सरकारले बिदा दिएपनि बागलुङ नगरपालिकाभरका प्रअ, जनप्रतिनिधि र कर्मचारी मिलेर खुलाउने निर्णय गरेका छन्। सो निर्णय नगरपालिकाले कार्यान्वयनमा ल्याउने श्रेष्ठले बताएका छन्। बिद्यालयको अचल सम्पत्ति देख्ने गरी बिद्यालयमा संरक्षण गर्ने, अनिवार्य सूचना अधिकारी तोक्ने, प्रअको स्विकृति बिना शिक्षकहरु बागलुङ नगरपालिका बाहिर नजाने निर्णयसमेत गरेको छ।