संस्कार र शैलीमा परिवर्तन आवश्यक रहेको गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको टिप्पणी

‘महिला हिंशा न्युनिकरण, मानव अधिकारको संरक्षण एवं नेपाल प्रहरीको जवाफदेहिता’ विषयक राष्ट्रिय अभियान

जनसम्मत
वैशाख २०, २०७६, शुक्रबार

पोखरा । गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संस्कार र शैलीमा परिवर्तन आवश्यक रहेको औंल्याएका छन् ।

संस्कार बदल्न सचेत समाज र नागरिकहरुको अभियान आवश्यक रहेको उनको भनाई थियो । संवैधानिक र परिमार्जित कानुनहरुको ज्ञान सवै नागरिकहरुमा हुनुपर्नेमा मुख्यमन्त्री गुरुङले जोड दिए ।

‘महिला हिंशा न्युनिकरण, मानव अधिकारको संरक्षण एवं नेपाल प्रहरीको जवाफदेहिता’ विषयक राष्ट्रिय अभियानको शुक्रबार पोखरामा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले प्रश्न गरे, ‘हाम्रो संस्कारमा परिवर्तन कसरी ल्याउन सकिन्छ ?’

असहाय पीडितहरुको उजुरीलाई तत्काल सुनुवार्ई गर्ने व्यवस्थाको माग गरे । उनले उजुरी दर्ता गर्ने कार्यशैलीमा परिवर्तनको आवश्यक रहेको औंल्याए । प्रहरीप्रति सर्वसाधारण नागरिकहरुले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन प्रहरीको कार्यशैलीमा परिवर्तन आवश्यक रहेको उनको ठहर छ ।

 ‘हाम्रो संरचना बदलियो, सोंच बदलिएन,’ उनले भने, ‘व्यवस्था बदलियो, विचार बदलिएन । प्रणाली बदलियो, हाम्रो संस्कार बदलिएन । भनसुनका भरमा र आफ्नो नाता पाता र कार्यकता वा पहुँचवाला र पैसावालाको आधारमा मात्रै उजुरीको सुनुवाई हुने परिपाटीको अन्त्य हुनुपर्छ ।’

उनले अदालत विश्वासको केन्द्र बन्न नसकेको बताए । उनले उल्लेख गरे, ‘जुन समाजमा इमान्दार र क्षमतावानको कदर हुन सक्दैन, त्यस समाजमा अयोग्य र बदमासहरुकै हाली मुहाली हुन्छ ।’

उनले प्रहरी संगठनलाई राजनीतिकरण गर्न खोजिएको आरोपसमेत लगाए । राजनीतिभित्र अत्यधिक पार्टीकरण गरिएको उनको भनाई थियो । प्रहरी संगठनमा राजनीतिकरण र पार्टीकरण नगर्ने राज्यले प्रतिबद्धता जनाउनुपर्नेमा उनले जोड दिए ।

कास्की जिल्ला समन्वय समिति संयोजक बैनबहादुर क्षत्रीले सवल, सक्षम प्रहरी संगठन आवश्यक रहेको औंल्याए । श्रोत साधन र जनशक्तिको पहुँचमा प्रहरी संगठन हुनुपर्नेमा क्षत्रीले जोड दिए । उनले महिला र बालबालिकाहरुको समस्या समाधान गर्ने छुट्टै प्रदेशस्तरिय विभागको माग गरे ।

कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले केही घटनाहरुबाहेक अन्य जघन्य घटनाहरुको अनुसन्धानमा कास्कीको प्रहरीले सफलता प्राप्त गरेको बताए ।