गण्डकी र बागमती प्रदेशमा साउन १ देखि इम्बोस्ड नम्बर अनिवार्य

जनसम्मत
जेठ २१, २०७९, शनिबार

सरकारले गण्डकी र बागमती प्रदेशमा दर्ता भएका सवारी साधनमा साउन १ गतेदेखि इम्बोस्ड नम्बर अनिवार्य गर्ने भएको छ।

यातायात व्यवस्था विभागले शुक्रबार सूचना प्रकाशित गरी अनिवार्य रूपमा इम्बोस्ड नम्बर लिन आग्रह गरेको छ। विभागको सूचनामा भनिएको छ, ‘सवारीहरूमा अविलम्ब इम्बोस्ड प्लेट जडान गर्न गराउन हुन बागमती प्रदेश अन्तर्गत यातायात व्यवस्था कार्यालय (सानो ठूलो सवारी), एकान्तकुना, ललितपुर र यातायात व्यवस्था कार्यालय (मोटरसाइकल) गुर्जुधारा, काठमाडौं र गण्डकी प्रदेश अन्तर्गत यातायात व्यवस्था कार्यालय (सवारी) पोखरा, कास्की र तीन कार्यालयमा दर्ता भएका सबै सवारीहरूका सवारीधनीहरूलाई यसै सूचना मार्फत जानकारी गराइएको छ।’

बागमती र गण्डकीमा दर्ता भएका सवारी साधनमा साउन १ गतेदेखि अनिवार्य गरिएको विभागले जनाएको छ। इम्बोस्ड नम्बर जडान नगरिएको पाइएमा कारबाही हुने भएको छ।

विभागले भनेको छ, ‘सवारीहरूमा इम्बोस्ड नम्बर प्लेटसम्बन्धी व्यवस्था कार्यान्वयन भए÷नभएको सम्बन्धमा मिति २०७९ साउन १ पश्चात् ट्राफिक प्रहरीबाट सडक अनुगमन गरिने र तोकिए अनुसार इम्बोस्ड प्लेट जडान नगरिएको पाइएमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ बमोजिम कारबाही हुने व्यहोरा समेत सम्बन्धित सबैलाई जानकारी गराइएको छ।’