गोरखाको भिमसेन थापा (मसेल) वासीद्वारा राजधानीमा सर्वदलीय राय, सुझाब संकलन

जनसम्मत
जेठ २१, २०७९, शनिबार

गोरखाको भिमसेन थापा गाउँपालिका अन्तरर्गतको मसेलले आज (शनिबार) काठमाण्डौंमा राय तथा सुझाब संकलन गरेको छ।

विभिन्न कारणले मसेलबाट काठमाण्डौंलाई थातथालो बनाएका मसेलबासीहरु बीच राजधानीमा राय तथा सुझाव संकलन कार्य गरेको हो।

कार्यक्रममा सहभागीहरुले स्वास्थ्य क्षेत्रलाई सरल तथा निःशुल्क प्रदान गर्न, निःशुल्क गुणस्तरीय शिक्षाका साथै पुर्वाधार विकासमा जोड दिनुपर्ने सुझाबहरु दिएका थिए । १ घर, १ धारा, घर धुरीको वर्गिकरण, मोटर बाटोको स्तरोन्न्ती, आर्थिक पारदर्शीता, युवा स्वरोजगार तथा परिचालन, व्यवस्थित वडा कार्यालय जस्ता विषयहरु पनि सुझाव दिएका छन्।

कार्यक्रममा गाउँपालिका अध्यक्ष लोकप्रसाद बञ्जाराले बिकासको वादक भनेकै निजी जमिन रहेको बताए। उनले संपूर्ण जमिन जनताको स्वामित्वमा भएकोले विकासका काम कारबाही गर्न अफ्ठ्यारो भएको अनुभव सुनाए।

उनले सहभागीहरुलाई आफू सबै राजनैतिक दलहरुको सहयोगमा पालिकाको अध्यक्ष बनेको भन्दै अध्यक्ष बञ्जाराले आफू सबैको साझा प्रतिनिधि भएका कारण राजनैतिक रंगभेदरहित भएर काम गर्ने बचन दिए।

अध्यक्ष बञ्जाराले सबैलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गरी पालिकालाई नमुना पालिका बनाउन सहयोग गर्न अनुरोध समेत गरे।